न्यायाधीशकाे महाभियोग प्रकरणमा तीन संस्थालाई स्पष्टीकरण सोध्न समितिले दियो परिषद्लाई निर्देशन
एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टले गत साउन ८ गते महाभियोगबारे जारी गरेको विज्ञप्तिका विषयमा स्पष्टीकरण माग गर्न परिषद्लाई निर्देशन दिएको हो।
काठमाडौं, साउन २० : सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशमाथि महाअभियोगको दबाब आएको भन्दै तीनवटा अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको प्रेस विज्ञप्तिको आधिकारिकताबारे स्पष्टीकरण माग गर्न संसदीय समितिले समाज कल्याण परिषद्लाई निर्देशन दिएको छ।
बुधबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा भएको छलफलपछि उक्त निर्देशन दिइएको हो। एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टले गत साउन ८ गते महाभियोगबारे जारी गरेको विज्ञप्तिका विषयमा स्पष्टीकरण माग गर्न परिषद्लाई निर्देशन दिएको हो।
समितिले ती संस्थाहरूले विज्ञप्तिमा उल्लेख गरिएको ‘क्रेडिबल रिपोर्ट’ उपलब्ध गराउन समेत महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।
२०८३ साउन ८ गते उक्त संस्थाबाट सर्वोच्च अदालतका वरिष्ठमत तीन न्यायाधीशलाई राजीनामा गर्न दबाब दिइएको, महाभियोग लगाउने तयारी गरिएकोलगायत दाबीसहित विरोधमा विज्ञप्ति प्रकाशित गरिएको थियो।
यस विषयमा बुधबार तीनवटै संस्थाका प्रतिनिधिलाई समितिले छलफलका लागि डाके पनि उपस्थित भएनन्।











