Kathmandu Press

कुनै धर्मले घृणा सिकाउँदैन, सबै मिलेर अघि बढ्नुपर्छ : सांसद ताहीर भाट

उनले हिन्दू धर्मको ग्रन्थ गीतामा ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिनः’ को भावना रहेको तथा कुरानले पनि सम्पूर्ण मानव समुदायका लागि समान सन्देश दिएको बताए।
कुनै धर्मले घृणा सिकाउँदैन, सबै मिलेर अघि बढ्नुपर्छ : सांसद ताहीर भाट

काठमाडौं, साउन १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहीर अलि भाटले सुनसरीसहित तराई क्षेत्रमा भएका पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले तराई घटनामा घाइते भएका रविन्द्र कुमार मेहताको मृत्यु भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको भन्दै शोक व्यक्त गरे।

सांसद भाटले धार्मिक ग्रन्थहरूले सबै मानवबीच समानता र सद्भावको सन्देश दिएको उल्लेख गर्दै कुनै पनि धर्मले अर्को धर्मका मानिसप्रति घृणा गर्न नसिकाउने बताए।

उनले हिन्दू धर्मको ग्रन्थ गीतामा ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिनः’ को भावना रहेको तथा कुरानले पनि सम्पूर्ण मानव समुदायका लागि समान सन्देश दिएको बताए।

सांसद भाटले नेपालमा लामो समयदेखि धार्मिक सहिष्णुता कायम रहँदै आएको उल्लेख गर्दै पछिल्ला घटनाले सामाजिक सद्भावमा असर पुर्याएको बताए। उनले नेपालका मुस्लिम समुदायले राष्ट्रिय एकता र अखण्डतामा कुनै असर नपुर्याएको दाबी गर्दै सबै नेपाली मिलेर यस्ता घटनाको समाधान खोज्नुपर्ने बताए।

सुनसरी र तराई क्षेत्रमा उत्पन्न तनाव नियन्त्रणका लागि गृहमन्त्रीले खेलेको भूमिकाको उनले प्रशंसा गरे। विपक्षी दलमा रहे पनि सकारात्मक कामको प्रशंसा गर्नुपर्ने भन्दै उनले गृहमन्त्रीले समयमै पहल गरेर अवस्था नियन्त्रणतर्फ लैजान सहयोग गरेको बताए।

सांसद भाटले हिन्दू राष्ट्रको विषयमा पनि धारणा राख्दै राप्रपाले माग गरेको हिन्दू राष्ट्रको अवधारणा कुनै समुदायविरुद्ध नभएको स्पष्ट पारे। उनले राप्रपाले सबै धर्मप्रति सम्मान र सर्वधर्म सद्भावको पक्षमा रहेको बताए।

उनले नेपालमा हिन्दू, मुस्लिम, बौद्ध, इसाईलगायत सबै समुदाय मिलेर बसेको उल्लेख गर्दै धार्मिक द्वन्द्वले देशलाई कमजोर बनाउने बताए। यस्ता घटनाको पुनरावृत्ति रोक्न गाउँ–गाउँसम्म सामाजिक सद्भावको शिक्षा फैलाउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: १४:२७ बजे, मंगलबार, साउन १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्