Kathmandu Press

कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

‘अहिले कोशीमा कांग्रेस सरकारमै छ। कांग्रेस बाहिरिएको पनि छैन र सरकारमा आउने दलसँग पनि औपचारिक छलफल भएको छैन। त्यसैले तत्काल सरकार परिवर्तन हुन्छ भन्ने अवस्था छैन,’ उनले भने।
कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

माेरङ, साउन १६ : केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारहरूको पुनर्गठन प्रक्रिया सुरु भएको छ।

कर्णाली प्रदेशमा सरकार परिवर्तन भइसकेको छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा पनि सरकार परिवर्तनको तयारी भइरहेको छ। तर, कोशी प्रदेशमा भने सरकार परिवर्तनको समय र नेतृत्वबारे अझै स्पष्टता आउन सकेको छैन।

केन्द्रमा भएको सहमतिअनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेकै भागमा परेको छ। यद्यपि, हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने कि नयाँ नेतृत्व अघि सार्ने भन्ने विषयमा एमालेभित्र नै ठोस निर्णय भइनसकेकाले सरकार परिवर्तनको मिति अन्योलमा परेको हो।

एमालेका नेता तथा पूर्वमन्त्री रेवतिरमण भण्डारीले प्रदेश सरकार तत्काल परिवर्तन हुने अवस्था नरहेको बताए। उनका अनुसार केन्द्रमा सत्ता सहमति भएपनि कोशी प्रदेशमा सरकार गठनबारे दलहरूबीच औपचारिक छलफल भएको छैन।

‘अहिले कोशीमा कांग्रेस सरकारमै छ। कांग्रेस बाहिरिएको पनि छैन र सरकारमा आउने दलसँग पनि औपचारिक छलफल भएको छैन। त्यसैले तत्काल सरकार परिवर्तन हुन्छ भन्ने अवस्था छैन,’ उनले भने।

यता नेपाली कांग्रेसले भने केन्द्रको निर्णयअनुसार अब सरकारबाट बाहिरिएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट संकेत दिएको छ।

कोशी प्रदेश सभापति तथा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले केन्द्रको निर्णयअनुसार कांग्रेस प्रतिपक्षमा बस्ने बताए। उनका अनुसार अब प्रदेशमा पनि नयाँ सत्ता समीकरणअनुसार प्रक्रिया अघि बढ्नेछ।

हाल कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार एमालेका सचिवसमेत रहेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन्। 

प्रकाशित मिति: १५:३१ बजे, शनिबार, साउन १६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्