Kathmandu Press

तराई–मधेस तनावबारे राप्रपाको चिन्ता, संवादबाट समाधान खोज्न आग्रह

राप्रपाले हिंसा, साम्प्रदायिक विद्वेष, धार्मिक असहिष्णुता तथा सामाजिक द्वन्द्व कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने उल्लेख गरेको छ।
तराई–मधेस तनावबारे राप्रपाको चिन्ता, संवादबाट समाधान खोज्न आग्रह

काठमाडौं, साउन १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तराई–मधेस क्षेत्रमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा राप्रपाले विभिन्न घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरको रेखदेख गर्ने व्यक्तिको भएको हत्याको पनि पार्टीले निन्दा गरेको छ ।

राप्रपाले हिंसा, साम्प्रदायिक विद्वेष, धार्मिक असहिष्णुता तथा सामाजिक द्वन्द्व कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने उल्लेख गरेको छ। प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनामा भिड व्यवस्थापनमा गम्भीर प्रशासनिक कमजोरी देखिएको दाबी गर्दै राज्यले संयमता गुमाउँदा र परिस्थितिको सही विश्लेषण गर्न नसक्दा तराई–मधेसमा तनाव बढ्न पुगेको जनाएको छ । 

समस्याको समाधान दमन वा गोली प्रहारबाट सम्भव नभएको उल्लेख गर्दै पार्टीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।

विज्ञप्तिमा तराई–मधेसका विभिन्न क्षेत्रमा हिन्दु चाडपर्व तथा धार्मिक महोत्सवका बेला पटक–पटक हुने तनाव, हिंसा र साम्प्रदायिक विवादप्रति पनि गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । यस्ता घटनाको कारण, पृष्ठभूमि, सुरक्षा व्यवस्थाको अवस्था तथा प्रशासनिक उत्तरदायित्वबारे गहिरो अध्ययन गरी दीर्घकालीन समाधान खोज्न र सर्वपक्षीय समिति गठन गरेर संवाद प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरिएको छ ।

राप्रपाले संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रताको अधिकार सबै नागरिकले निर्भयपूर्वक प्रयोग गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । राज्यको उदासीनताका कारण देश द्वन्द्वतर्फ उन्मुख हुन सक्ने भन्दै सबै पक्षलाई विश्वासमा लिएर दीर्घकालीन शान्तिका लागि राष्ट्रिय प्रतिबद्धता आवश्यक रहेको जनाएको छ ।

पार्टीले २०६२÷६३ को राजनीतिक परिवर्तनपछि राज्यले अवलम्बन गरेको वैचारिक तथा संवैधानिक मार्गचित्रमाथि गम्भीर राष्ट्रिय समीक्षा आवश्यक रहेको निष्कर्ष पनि बैठकले निकालेको जनाएको छ । राष्ट्रिय पहिचान, सांस्कृतिक निरन्तरता र समाजको भावनात्मक एकतालाई पर्याप्त महत्व नदिँदा अपेक्षित राष्ट्रिय एकता सुदृढ हुन नसकेको र सामाजिक तथा धार्मिक तनावले पुनर्विचारको आवश्यकता देखाएको राप्रपाको धारणा छ ।

विज्ञप्तिमा राप्रपाले वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनस्र्थापनाको आफ्नो एजेन्डा कुनै धर्म, सम्प्रदाय वा समुदायको अधिकार सीमित गर्ने उद्देश्यबाट प्रेरित नभएको स्पष्ट पारेको छ । नेपालको ऐतिहासिक पहिचान, राष्ट्रिय एकता, सांस्कृतिक निरन्तरता तथा सबै नागरिकको धार्मिक स्वतन्त्रता र समान अधिकार सुनिश्चित गर्ने राष्ट्रिय अवधारणाका रूपमा हिन्दुराष्ट्रको विषयलाई पार्टीले निरन्तर उठाउँदै आएको उल्लेख गरिएको छ । पछिल्ला दुई दशकको अभ्यासले हिन्दुराष्ट्र नेपालको आवश्यकता पुष्टि गरेको दाबी गर्दै त्यसबारे राष्ट्रिय बहस सुरु गर्न पनि आह्वान गरिएको छ ।

राप्रपाले सम्पूर्ण नेपालीलाई संयम, सहिष्णुता, विवेक र राष्ट्रिय एकताको पक्षमा उभिन आग्रह गर्दै बहुसंख्यकको सम्मान र अल्पसंख्यकको संरक्षण नेपालको स्थापित राष्ट्रिय चरित्र भएको उल्लेख गरेको छ । कुनै पनि बहानामा हुने विभाजनकारी गतिविधिले राष्ट्रिय एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा दीर्घकालीन शान्तिमा असर पुग्ने भएकाले सबै पक्षलाई जिम्मेवार बन्न पार्टीले आग्रह गरेको छ ।

प्रकाशित मिति: १८:२३ बजे, शुक्रबार, साउन १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्