Kathmandu Press

धर्मका नाममा विभाजनकारी गतिविधि रोक्न आह्वान, सभापति लामिछानेसहित धार्मिक अगुवाले गरे संयुक्त अपिल

छलफलपछि जारी संयुक्त अपिलमा सुनसरीको देवानगञ्ज क्षेत्रमा केही दिनअघि भएको दुःखद घटना तथा त्यसपछि मधेस प्रदेशका विभिन्न जिल्लामा सिर्जित असहज परिस्थितिप्रति गहिरो दुःख व्यक्त गरिएको छ।
धर्मका नाममा विभाजनकारी गतिविधि रोक्न आह्वान, सभापति लामिछानेसहित धार्मिक अगुवाले गरे संयुक्त अपिल

काठमाडौं, साउन १५ : सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विभिन्न धार्मिक समुदायका अगुवाहरूसँग छलफल गरेका छन्। 

छलफलपछि जारी संयुक्त अपिलमा सुनसरीको देवानगञ्ज क्षेत्रमा केही दिनअघि भएको दुःखद घटना तथा त्यसपछि मधेस प्रदेशका विभिन्न जिल्लामा सिर्जित असहज परिस्थितिप्रति गहिरो दुःख व्यक्त गरिएको छ।

अपिलमा सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

अपिलमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकता देशको पहिचानको आधार भएको उल्लेख गरिएको छ ।

कुनैपनि घटना वा विवादका कारण राष्ट्रिय एकता र सामाजिक सद्भावमा असर पर्न नहुनेमा जोड दिइएको छ।

सुनसरी, सिरहा तथा मधेस प्रदेशका विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष छानबिन गरी कानूनविपरीतका कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्न, पीडित परिवारलाई राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

धर्मका नाममा हिंसा फैलाउने प्रयास भइरहेका बेला नागरिकलाई संयमित रहन, उत्तेजनात्मक, घृणात्मक तथा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न नहुन अपिल गरिएको छ ।

संयुक्त अपिलमा सबै धर्मको मूल उद्देश्य मानव कल्याण, सहिष्णुता र सामाजिक एकता सुदृढ गर्नु रहेको उल्लेख गर्दै एकअर्काप्रति सम्मान कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताइएको छ ।

अपिलमा स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय हुन आह्वान गरिएको छ ।

संयुक्त अपिलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघ नेपालका सचिवालय सदस्य राजुराज फुंयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: १८:१३ बजे, शुक्रबार, साउन १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्