सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
साउन १३ गते (बुधबार) राति अन्दाजी ९ बजेको समयमा पौडेल रौतहट निर्वाचन क्षेत्र नं. ४ का जनताका गुनासाहरू सुनिरहेका थिए । सोही क्रममा केही अपरिचित व्यक्तिहरू उक्त स्थानमा आइपुगेका थिए।
रौतहट, साउन १४ : रौतहटको गढीमाई नगरपालिका वडा नं. ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो।
साउन १३ गते (बुधबार) राति अन्दाजी ९ बजेको समयमा पौडेल रौतहट निर्वाचन क्षेत्र नं. ४ का जनताका गुनासाहरू सुनिरहेका थिए । सोही क्रममा केही अपरिचित व्यक्तिहरू उक्त स्थानमा आइपुगेका थिए।
उनीहरूले ‘मधेस मुक्ति अभियान जिन्दावाद लेखेको पर्चा र मधेस मुक्ति अभियान जिन्दावाद, फिर्ता होऊ नेपाली माननीय मुर्दावाद, नेपाली उपनिवेश अन्त हो, झापा देखि कञ्चनपुर सम्मको मधेस स्वतन्त्र हो’ भनी लेखिएका पर्चाहरू फ्याँकेका थिए । त्यसपछि उनीहरूले प्रतिनिधि सभा सदस्य पौडेलमाथि अपमानजनक तथा अमानवीय व्यवहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार घटनामा संलग्न रहेको आरोपमा रौतहट गढीमाई नगरपालिका वडा नं. ०३ घर भई ऐ. वडा नं. ७ धनाडी बस्ने वर्ष २० का शेख ईवरान र गढीमाई नगरपालिका वडा नं. ३ गम्हरिया बस्ने वर्ष १९ का ईर्फान अंसारीलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने कसुरमा सम्मानित रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको उनले जानकारी दिए । साथै, उक्त घटनामा संलग्न भई हाल फरार रहेका अन्य व्यक्तिहरूको समेत तीव्र रूपमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।











