सरकार र प्रधानमन्त्रीले गर्ने काम गरिहरनु भएको छ : सभापति लामिछाने
‘यो बैठक राजनीतिक दलहरूका शीर्ष नेताहरूले विद्यमान घटनाक्रमहरूलाई हेर्ने दृष्टिकोण र सरकारलाई ध्यानाकर्षण गराउने बैठक भएको हुनाले त्यसै ढंगले बसेको हो,’ उनले भने, ‘प्रधानमन्त्रीले गर्ने काम आफूले गरिरहनुभएको छ, गर्नुहुन्छ। गृहमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहनुभएको छ, गर्नुहुन्छ।’
काठमाडौं, साउन १२ : राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले सरकार र प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीअनुसारको काम गरिरहेको बताएका छन्।
सुनसरीमा देखिएको तनावबारे छलफल गर्न आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित रहेको विषयको बचाउ गर्दै सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक दलका शीर्ष नेताहरूको बैठक सरकारको प्रतिनिधित्वका लागि नभई राजनीतिक धारणा र मार्गनिर्देशनका लागि आयोजित गरिएको बताए। त्यसैले बैठकमा प्रधानमन्त्री उपस्थित नभएको उनको भनाई थियो।
‘यो बैठक राजनीतिक दलहरूका शीर्ष नेताहरूले विद्यमान घटनाक्रमहरूलाई हेर्ने दृष्टिकोण र सरकारलाई ध्यानाकर्षण गराउने बैठक भएको हुनाले त्यसै ढंगले बसेको हो,’ उनले भने, ‘प्रधानमन्त्रीले गर्ने काम आफूले गरिरहनुभएको छ, गर्नुहुन्छ। गृहमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहनुभएको छ, गर्नुहुन्छ।’
लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापालगायत नेताहरूले आलोचना गरेका थिए।
प्रधानमन्त्रीको अनुपस्थितिबारे उठेको प्रश्नको जवाफ दिँदै लामिछानेले सर्वदलीय बैठक राजनीतिक दलका शीर्ष नेताहरूको धारणा र मार्गनिर्देशन लिन केन्द्रित रहेको बताए।
लामिछानेले आवश्यक परेका बेला सरकारको ध्यानाकर्षण गराउने परम्परालाई निरन्तरता दिइएको पनि बताए। उनले साम्प्रदायिक प्रकृतिका घटनाबाट सबै पक्षलाई क्षति पुग्ने भएकाले यस्ता विषयमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए।
‘कुनै पनि साम्प्रदायिक घटना हुँदा सबैलाई घाटा हुन्छ। देश सबैको हो। राजनीतिक रूपमा लड्ने मैदान फरक छन्। तर, यस किसिमका घटना हुँदा हामी सबै एकै ठाउँमा उभिनुपर्छ भन्ने महसुस हामी सबै राजनीतिक दलले गरेका छौँ। सबै राजनीतिक दलबाट संयुक्त अपिल पनि चाँडै आउँदै छ। त्यसले धेरै कुरा स्पष्ट पार्ला,’ उनले भने।











