Kathmandu Press

सरकारको उपस्थिति फेसबुकमा मात्र भेटियो, सद्भाव र शान्तिको खोजी संवाद र सहकार्यबाट हुन्छ : विपक्षी दल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुनसरी घटनाका सन्दर्भमा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील हुनुपर्ने बताएका छन्। बैठकमा उनले सरकारको आलोचना पनि गरे।
सरकारको उपस्थिति फेसबुकमा मात्र भेटियो, सद्भाव र शान्तिको खोजी संवाद र सहकार्यबाट हुन्छ : विपक्षी दल

काठमाडौं, साउन १२ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलले सरकारले संवेदनशील विषयमा पनि सहकार्यलाई निषेध गर्न खोजिएको बताएका छन्।

बैठकपछि कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले सद्भाव र शान्ति कायमका लागि सरकारले गम्भीरता नदेखाएको बताए। यस विषयमा आफूहरुले रास्वपा सभापतिलाई ध्यानाकर्षण गराएको बताए।

यस्तो अवस्थामा सरकारले बैठक र संवाद बोलाउनुपर्नेमा त्यसलाई प्रधानमन्त्रीले बेवास्ता गरेको विपक्षी दलहरुको भनाई रहेको उनले बताए। 

‘सरकार फेसबुकको स्ट्याटसमा मात्रै भेटिन्छ, फिल्डमा भेटिँदैन । सद्भाव र शान्तिको खोजी संवाद र सहकार्यबाट हुन्छ । सैन्य ढंगलेमात्रै समस्याको समाधान हुँदैन भनेर हामीले भनेका छौँ,’ आङदेम्बेले भने।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुनसरी घटनाका सन्दर्भमा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील हुनुपर्ने बताएका छन्। बैठकमा उनले सरकारको आलोचना पनि गरे।

‘यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ। प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ। सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन,’ दाहालले भने।

सुनसरीमा देखिएको तनावप्रति उनले गम्भीर चिन्ता व्यक्त गरेका थिए।

बैठकमा सहभागी एमाले महासचिव शंकर पोखरेलले सरकारले दलीय संवाद र सहकार्यलाई निषेध गरिरहेको बताए। 

‘यो संवाद सरकार स्वयंले गर्नुपर्थ्यो, विभागीय मन्त्री कम्तीमा उपस्थित हुनुपर्थ्यो। यो प्रस्तुतिबाट राज्य सञ्चालनमा सरकारको गम्भीरता कस्तो छ भन्ने देखिएको छ। सर्वदलीय बैठकबाट हामी सबै दलले संयुक्त रूपमा शान्ति र सद्भाव कायम गर्न अपिल गरेका छौँ,’ उनले भने।

बैठकमा राप्रपाले पनि प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएको छ। 

बैठकमा सहभागी भएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने, ‘हामीले बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिको विषयमा प्रश्न उठायौँ। अहिलेलाई सद्भाव र शान्ति प्राथमिकता रहेकाले सामूहिक रूपमा त्यसका लागि प्रयत्न अघि बढाउने भएका छौँ।’

प्रकाशित मिति: ११:४७ बजे, बुधबार, साउन १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्