भारतीय जेलमा रहेका दुई नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग
सर्लाहीको बलरा नगरपालिका निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह आफ्नै खेतमा प्रयोग गर्ने उद्देश्यले भारतको सीमावर्ती बजार सोनवरसाबाट युरिया र डीएपी मल खरिद गरी फर्कने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेका थिए । उनीहरू विगत २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा जेलमा रहेका छन् ।
काठमाडौं, साउन १२ : नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाहीका दुई नेपाली किसान भारतीय जेलमा परेको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ ।
सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले उनीहरूको रिहाइ तथा समस्या समाधानका लागि सरकारले व्यावहारिक, कूटनीतिक र कानुनी माध्यमबाट तत्काल पहल गर्न माग गरेको हो ।
सर्लाहीको बलरा नगरपालिका निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह आफ्नै खेतमा प्रयोग गर्ने उद्देश्यले भारतको सीमावर्ती बजार सोनवरसाबाट युरिया र डीएपी मल खरिद गरी फर्कने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेका थिए । उनीहरू विगत २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा जेलमा रहेका छन् ।
कांग्रेसले ती किसानहरू कुनै व्यावसायिक लाभका लागि नभई आफ्नै खेतीका लागि मल जोहो गर्न गएकाले उनीहरूलाई तस्करको रूपमा नहेर्न आग्रह गरेको छ ।
कांग्रेसले भारत सरकारसँग पनि नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, खुल्ला सीमा र जनस्तरको आत्मीय सम्बन्धलाई ध्यानमा राख्दै पक्राउ परेका किसानलाई रिहा गर्न र आवश्यक कानुबनी सहजीकरण गरिदिन अनुरोध गरेको छ ।