कप्तानगञ्जमा कर्फ्यू उल्लंघन, सडकमा निस्कियो सेना
हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ। स्थितिलाई नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको निर्णयपछि नेपाली सेनाको टोली खटिएको हो।
सुनसरी, साउन ११ : स्थानीयले कर्फ्यु आदेश उल्लंघन गर्दै देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा प्रदर्शन गरेका छन्।
स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू उल्लंघ गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना सडकमा निस्किएको छ।
हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ। स्थितिलाई नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको निर्णयपछि नेपाली सेनाको टोली खटिएको हो।
कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो ।