Kathmandu Press

भैंसेपाटी मन्त्री निवासलाई बाल आश्रयमा रूपान्तरण गर्न रविन्द्र मिश्रको आग्रह

‘भैंसेपाटीमा झण्डै तीन अर्ब रूपैयाँको लागतमा निर्माण गरिएको र अहिले झण्डै ४० करोड रूपैयाँको लागतमा पुनर्निर्माण हुँदैगरेको आलिसान मन्त्री निवासलाई दक्षिण एशियाकै उदाहरणीय बाल आश्रयमा परिणत गरियोस् भन्ने मेरो विशेष आग्रह रहँदै आएको छ,’ उनले भने।
भैंसेपाटी मन्त्री निवासलाई बाल आश्रयमा रूपान्तरण गर्न रविन्द्र मिश्रको आग्रह

काठमाडौं, साउन ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वनेता रविन्द्र मिश्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीलाई भैंसेपाटीस्थित मन्त्री निवासलाई बाल आश्रयमा रूपान्तरण गर्न प्रधानमन्त्रीसमक्ष प्रस्ताव राख्न आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत उनले भैंसेपाटीमा करिब तीन अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको र हाल करिब ४० करोड रुपैयाँ खर्चेर पुनर्निर्माण भइरहेको मन्त्री निवासलाई दक्षिण एशियाकै नमुना बाल आश्रयका रूपमा विकास गर्नुपर्ने बताए। 

‘भैंसेपाटीमा झण्डै तीन अर्ब रूपैयाँको लागतमा निर्माण गरिएको र अहिले झण्डै ४० करोड रूपैयाँको लागतमा पुनर्निर्माण हुँदैगरेको आलिसान मन्त्री निवासलाई दक्षिण एशियाकै उदाहरणीय बाल आश्रयमा परिणत गरियोस् भन्ने मेरो विशेष आग्रह रहँदै आएको छ,’ उनले भने।

मिश्रका अनुसार संसारका सुशासित मुलुकहरूमा मन्त्रीहरूका लागि यति भव्य सरकारी निवासको व्यवस्था सामान्य अभ्यास होइन। यसै कारण उक्त भवनलाई ‘पापी निवास’ भन्ने गरेको उल्लेख गरे । मन्त्रीहरूलाई आधुनिक अपार्टमेन्ट भवनमा बसोबासको व्यवस्था गर्दा सुरक्षा र सरकारी खर्च दुवै हिसाबले उपयुक्त हुने उनले बताए। 

‘संसारमा कुनै सुशासित र सुसंस्कृत देशले मन्त्रीहरूको लागि यस्तो भव्य महल बनाएको र ती महलमा कुनै दोषभावबिना मन्त्रीहरू बसेको मलाई थाहा छैन। त्यसैले मैले भैंसेपाटीको मन्त्री निवासलाई ‘पापी निवास’ भन्ने गरेको छु,’ उनले भने, ‘मन्त्रीहरूलाई एउटा अपार्टमेण्ट भवनको विभिन्न तलामा राखियोस्। सुरक्षा र खर्च दुबै दृष्टिकोणबाट सहज हुनेछ।’

मिश्रले मन्त्री बादीले बाल मन्दिर पुनर्निर्माणका लागि दिएको निर्देशनको स्वागत गर्दै, बाल आश्रयमा बिताएको उनको अनुभवले यस विषयको महत्व अझ राम्रोसँग बुझ्न सक्ने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति: ११:४७ बजे, सोमबार, साउन ११, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्