जनयुद्धको तयारी गर्दा नरबहादुर कर्मचार्यसँग धेरै सल्लाह भएको थियो : प्रचण्ड
‘मैले जनयुद्धको तयारीका सबै कुरा कमरेड नरबहादुर कर्मचार्यलाई भन्ने गर्थेँ। उहाँ बडो रुचिपूर्वक सुन्नुहुन्थ्यो। साँच्चै नेपालमा जनयुद्ध हुन्छ त ?’ भन्ने उहाँको जिज्ञासा हुने गर्दथ्यो । मैंले सबैजसो सल्लाह उहाँसँग लिने गर्थेँ, उहाँले पनि सकेको सुझाव दिनुहुन्थ्यो,’ उनले भने।
काठमाडौं, साउन ९ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र देशको नेतृत्व गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्।
शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नरबहादुर कर्मचार्य जीवनभर वर्ग, विचार र क्रान्तिप्रति इमानदार, निष्ठावान र सरल व्यक्तित्वका रूपमा स्थापित भएको बताए।
उनले आफू जनयुद्धको तयारीका क्रममा करिब छ वर्ष कर्मचार्यको संरक्षणमा बसेको स्मरण गर्दै जनयुद्धको तयारीका विषयमा नियमित छलफल हुने गरेको बताए।
‘मैले जनयुद्धको तयारीका सबै कुरा कमरेड नरबहादुर कर्मचार्यलाई भन्ने गर्थेँ। उहाँ बडो रुचिपूर्वक सुन्नुहुन्थ्यो। साँच्चै नेपालमा जनयुद्ध हुन्छ त ?’ भन्ने उहाँको जिज्ञासा हुने गर्दथ्यो । मैंले सबैजसो सल्लाह उहाँसँग लिने गर्थेँ, उहाँले पनि सकेको सुझाव दिनुहुन्थ्यो,’ उनले भने।
प्रचण्डले कम्युनिस्ट आन्दोलन एकताबद्ध हुनुपर्छ भन्ने विषयमा कर्मचार्य सधैँ दृढ रहेको उल्लेख गर्दै एकता केन्द्र गठन हुँदा उहाँ निकै खुसी भएको तर पछि विभाजन हुँदा दुःखी बनेको बताए।
उनले भने, ‘कमरेड नरबहादुर कर्मचार्यले मनपर्ने नेता को भन्दा ’प्रचण्ड’ भन्नुभएको थियो । त्यो सामान्य भनाइ थिएन, त्यसभित्र ठूलो विचार र भावना थियो, म त्यो कहिल्यै बिर्सिन्नँ।’
उनले नेपालका प्रथम कम्युनिस्ट महासचिव पुष्पलाल श्रेष्ठका विचार इतिहासले सही सावित गरिसकेको भन्दै अहिले कम्युनिस्ट आन्दोलनमा पुष्पलालप्रति कुनै विमति नरहेको बताए।
नरबहादुर कर्मचार्य अन्तिम समयसम्म पनि क्रान्तिकारी धारमै अडिग रहेको उल्लेख गर्दै उनले वर्तमान परिस्थितिमा कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खाएको बताए।
उनले भने, ‘अहिले नेपालको कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको बेलामा कमरेड पुष्पलाल र कमरेड नरबहादुर कर्मचार्यजस्ता नेताहरूलाई स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्ने, पुनर्जीवित गर्ने र देशको नेतृत्व गर्ने संकल्प गर्नुपर्ने अवस्था आएको छ।’
प्रचण्डले श्रद्धाञ्जलि कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको पुनर्गठन तथा देशमा देखापरेका निरंकुश प्रवृत्तिविरुद्ध संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।











