Kathmandu Press

लोकतन्त्र, संविधान र सुशासनका लागि सबै दलसँग सहकार्य गर्नुपर्छ : ओली

‘चुनावले मात्रै लोकतन्त्र हुँदैन। विभिन्न देशमा चुनाव हुने गरेका छन्, तर लोकतन्त्र छैन । चुनाव हुन्छ, लोकतन्त्र हुँदैन। हाम्रो देशमा पनि मैले बोल्नलाई जिब्रो चपाइरहनुपर्ने आवश्यकता देख्दिनँ,’ उनले भने।
लोकतन्त्र, संविधान र सुशासनका लागि सबै दलसँग सहकार्य गर्नुपर्छ : ओली

काठमाडौं, साउन ७ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव मात्रै लोकतन्त्रको आधार नहुने बताएका छन्।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) द्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विभिन्न देशमा चुनाव भए पनि त्यहाँ लोकतन्त्र नभएको उदाहरण रहेको उल्लेख गरे।

‘चुनावले मात्रै लोकतन्त्र हुँदैन। विभिन्न देशमा चुनाव हुने गरेका छन्, तर लोकतन्त्र छैन । चुनाव हुन्छ, लोकतन्त्र हुँदैन। हाम्रो देशमा पनि मैले बोल्नलाई जिब्रो चपाइरहनुपर्ने आवश्यकता देख्दिनँ,’ उनले भने।

ओलीले २०८२ साल भदौ २३ र २४ गते भएको जनधनको क्षति, आगजनी तथा हिंसात्मक घटनाप्रति टिप्पणी गर्दै नेपालको इतिहासमा त्यस्ता घटना कल्पना गर्न नसकिने बताए।

‘०८२ को भदौ २३ र २४ गते जनधनको क्षति गराउने, देशमा मार्ने–मराउने, आगजनी गराउने, यस्ता कहिल्यै नभएका घटना नेपालको इतिहासमा कल्पना गर्न सकिने थिएनन् । राणा शासनविरुद्धको संघर्षमा पनि यस्तो भएन । राणाहरूका घरमा आगो लगाइएन, दरबारहरू जलाइएनन् । त्यसपछिका संघर्षहरूमा पनि त्यस्तो गरिएन। २०६२÷६३ को आन्दोलनमा पनि त्यस्तो भएन,’ उनले भने।

माओवादी आन्दोलनतर्फ संकेत गर्दै उनले हिंसात्मक बाटो रोजिए पनि समाजलाई आतंकको नियन्त्रणमा राख्ने खालका गतिविधि नभएको दाबी गरे।

‘माओवादीले सत्ताकब्जा गर्नका लागि हिंसात्मक बाटो उपयुक्त छ भनेर त्यो बाटो समात्यो । तर उपद्रो र आतंकपूर्ण क्रियाकलाप गर्यो । समाजलाई आतंकको भयको नियन्त्रणमा राख्ने त्यस प्रकारका क्रियाकलाप गरेनन्,’ उनले भने।

ओलीले वैधानिक सरकार र संवैधानिक व्यवस्थाविरुद्ध अवैध तथा आपराधिक गतिविधि भएको आरोप पनि लगाए । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी विषय उठाउँदै संविधानको व्याख्याप्रति प्रश्नसमेत गरे।

‘वैधानिक सरकारलाई, वैधानिक सत्तालाई अवैध, आतंकपूर्ण र आपराधिक क्रियाकलापबाट अपदस्त गर्ने, संविधानविपरीत मात्र होइन, संविधानको धाराले जुन कुरा हुँदैन भन्छ, त्यही काम पूर्वप्रधानन्यायाधीशको अगुवाइमा भयो। बन्देज गरेको कुरा गर्ने काम भयो । अवैध सिफारिसमा जननिर्वाचित सांसद हटाएर संसद् बन्द गर्ने काम भयो । एक तिहाइ विकल्प हुन सक्दैन । दुई तिहाइको प्रधानमन्त्रीले सरकार चलाउन असुविधा भयो, असहज भयो, सम्भव भएन, त्यसकारण विघटन गर्छु भनेर गरिपाऊँ भनी सिफारिस गर्दा असंवैधानिक हुने, अलोकतान्त्रिक हुने । अनि संविधानबाहिरबाट कुन धाराबाट प्रतिनिधिसभाको विघटन ?,’ उनले भने। 

यसैगरी ओलीले देश, जनता, लोकतन्त्र, संविधान र सुशासनको पक्षमा सबै राजनीतिक दलले सहकार्य गर्नुपर्ने बताए । उनले लोकतन्त्रको रक्षा, संविधानको संरक्षण र सुशासन पुनः स्थापित गर्न सबै दलले साझा रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, ‘देशका लागि, जनताको हितमा, लोकतन्त्र फिर्ता ल्याउन, संविधानको रक्षा गर्न र सुशासन फेरि फिर्ता ल्याउन दृढताका साथ अगाडि बढौं । एकजुट भएर अगाडि बढौं। सबै पार्टी एकै ठाउँमा मिलेर एउटै पार्टी बनाएर जाऔं भनेको होइन। पार्टी आफ्ना–आफ्नै भए पनि हुन्छ, तर काममा चाहिँ मिलौं, सहकार्य गरौं।’

ओलीले प्रदेश सरकारको अवस्थाबारे केही अन्योल देखिएको स्वीकार गर्दै त्यसको समाधान छिट्टै गरिने बताए।

उनले भने, ‘अहिले प्रदेश सरकारहरूमा अलिकति अन्योलजस्तो देखा परेको छ। तर त्यसको समाधान छिट्टै दिन्छौं। यो अस्पष्टतालाई हामी हटाउँछौं। स्पष्ट ढंगले प्रदेश सरकारहरू र स्थानीय सरकारहरू चल्छन् ।’

प्रकाशित मिति: १७:५४ बजे, बिहीबार, साउन ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्