अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार राति परेको वर्षापछि सडकमा लेदो र पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
काभ्रे,साउन ३ : काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडामा सडकमाथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार राति परेको वर्षापछि सडकमा लेदो र पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
सडकमा थुप्रिएको लेदो र पहिरो हटाउने कार्य सम्पन्न भएपछि केहीबेरअघि मात्रै यातायात सञ्चालनमा ल्याइएको हो।
राजमार्ग खुलेसँगै दुवैतर्फ रोकिएका सवारीसाधनहरू पुनः सञ्चालनमा आएको हो। सडक अवरुद्ध हुँदा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका सवारीसाधन सिन्धुलीको खुर्कोटमा रोकिएका थिए भने काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेका सवारीसाधन काभ्रेको भकुण्डे क्षेत्रमा रोकिएका थिए।
प्रहरीले वर्षायामका कारण सडक अझै जोखिमपूर्ण अवस्थामा रहेकाले आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न सबै चालक तथा यात्रुलाई आग्रह गरेको छ।











