मिटरब्याजपीडित तीन दिनदेखि निजगढमै, भएन सरकारसँग सहमति
दुई दिन गृहमन्त्री सुधन गुरुङसँग छलफल भए पनि सहमति हुन नसकेको मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय महासचिव मनोज पासवानले जानकारी दिए।
बारा, असार ३२ : मिटरब्याजपीडितले धनुषाको तिरहुतिया गाछीबाट पैदल मार्चपास यात्रा सुरु गरेको आठ दिन भइसकेको छ। यात्राको पाँचौँ दिन बाराको निजगढ पुगेका उनीहरू अझै त्यहीँ रोकिएका छन्।
निजगढ उद्योग वाणिज्य संघमा बास बसेका मिटरब्याजपीडित सरकारसँग सम्झौता हुने आसमा छन्। तर, हालसम्म सम्झौता हुन सकेको छैन।
दुई दिन गृहमन्त्री सुधन गुरुङसँग छलफल भए पनि सहमति हुन नसकेको मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय महासचिव मनोज पासवानले जानकारी दिए।
उनका अनुसार बुधबार बेलुका पौने ८ देखि राति ११ बजेसम्म गृहमन्त्रीसँग छलफल भएको थियो। सरकारी पक्ष आफूहरूका मागमा धेरै बुँदा सकारात्मक रहेको उनले सुनाए।
बिहीबार पनि वार्ता हुने भनिएको छ। तर, समय निर्धारण नभएको र सरकारी पक्षबाट यसबारे जानकारी नपाएको महासचिव पासवानले बताए।
मिटरब्याजपीडितले ६ बुँदे माग अघि सारेका छन्। मिटरब्याज अपराध उन्मूलन घोषणा गरिनुपर्ने, मिटरब्याज विशेष ऐन निर्माण, मिटरब्याज न्यायाधिकरण गठन हुनुपर्ने उनीहरूका मुख्य माग छ।











