अस्थायी कर्मचारी ननिकाल्न सरकारलाई सांसद राईको आग्रह
‘अहिलेको सरकारलाई म सभामुखमार्फत निवेदन गर्न चाहन्छु, उहाँहरूलाई निकाल्नु हुँदैन। उहाँहरूको जीवन यही ठाउँमा बितेको छ। थुप्रै मानिसहरू रोजगारीको खोजीमा विदेश गइरहेको बेला यहीँ रोजगारी पाइरहेका दाजुभाइलाई नै निकाल्न थाल्यौं भने परिस्थिति झन् जटिल बन्छ,’ उनले भने।
काठमाडौं, असार ३१ : नेकपा (एमाले)का सांसद राजेन्द्र कुमार राईले करार तथा अस्थायी कर्मचारीलाई सेवाबाट नहटाउन सरकारसँग आग्रह गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालय अगाडि भेला भएका करार तथा अस्थायी कर्मचारीसँग भएको आफ्नो संवाद सुनाउँदै उनीहरूको रोजगारी सुरक्षित गर्न सरकारको ध्यानाकर्षण गराए।
‘हिजो अर्थ मन्त्रालय अगाडि थुप्रै कर्मचारी साथीहरू भेला भएर छलफल गरिरहनुभएको थियो। मलाई जिज्ञासा लाग्यो, मैले के भयो भनेर प्रश्न गर्दा उहाँहरूले भन्नुभयो हाम्रो जिन्दगी बितिसक्यो। हामी करार र अस्थायी कर्मचारी भएर राज्य र जनताको सेवा गरिरहेका छौं। नयाँ सरकारले मुलुक बनाउन आएको भन्दै हामीलाई निकाल्ने कुरा गरिरहेको छ। यसले हाम्रो जीवन बर्बादीतर्फ जाने अवस्था सिर्जना भएको छ। हामीले यो ठाउँ छोड्नुप¥यो भने ठूलो समस्या हुन्छ,’ उनले भने।
सांसद राईले सभामुखमार्फत सरकारलाई करार तथा अस्थायी कर्मचारीलाई नहटाउन आग्रह गर्दै उनीहरूको लामो समयदेखि उक्त सेवामै जीवन बितेको उल्लेख गरे।
‘अहिलेको सरकारलाई म सभामुखमार्फत निवेदन गर्न चाहन्छु, उहाँहरूलाई निकाल्नु हुँदैन। उहाँहरूको जीवन यही ठाउँमा बितेको छ। थुप्रै मानिसहरू रोजगारीको खोजीमा विदेश गइरहेको बेला यहीँ रोजगारी पाइरहेका दाजुभाइलाई नै निकाल्न थाल्यौं भने परिस्थिति झन् जटिल बन्छ,’ उनले भने।
उनले विगतमा पर्याप्त तयारीबिनै सुकुम्बासी हटाउँदा समस्या उत्पन्न भएको उदाहरण दिँदै अस्थायी कर्मचारी हटाउने निर्णयले पनि त्यस्तै जटिल अवस्था निम्त्याउन सक्ने चेतावनी दिए।
‘हिजो बिना तयारी सुकुम्बासीहरूलाई हटाइएकै कारण अहिले ठूलो समस्या बनेको छ। त्यो समस्या समाधान गर्न सरकारलाई धौधौ परिरहेको छ। त्यसैगरी अस्थायी कर्मचारीलाई निकाल्यौं भने झन् जटिल समस्या सिर्जना हुन्छ,’ उनले भने।











