Kathmandu Press

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

उनले इलाम–राजदरबार सडकखण्ड, माइजोगमाई खोलाको बेलीब्रिज, पुवाखोलाको बेलीब्रिज तथा सिमलगोल क्षेत्रका सडकहरूको अवस्था सुधारका लागि पटक–पटक सदनमा आवाज उठाए पनि सरकारले सुनुवाइ नगरेको गुनासो गरे।
इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले मेची राजमार्गसहित इलामका विभिन्न सडकखण्ड अत्यन्त जीर्ण बनेकाले बिरामी र सुत्केरीलाई अस्पतालसम्म पुर्याउन समेत कठिनाइ भएको बताए।

‘इलामको विषयमा यहाँ बोल्दै गर्दाखेरि, आज हामीले भनिरहेको इलामलाई हरित नगरी इलाम भनेर भन्थ्यौँ। तर आज हिलोमय इलाम हुन पुगेको छ। मेची राजमार्गको अवस्था यस्तो दर्दनाक छ कि त्यहाँ इलामबाट कोही नागरिक बिरामी भएको खण्डमा अथवा सुत्केरी नागरिक झापाको अस्पतालसम्म आउन सक्ने स्थिति छैन। राजदरबारको बाटोखण्ड उत्तिकै बेहाल अवस्थामा छ,’ उनले भने।

उनले इलाम–राजदरबार सडकखण्ड, माइजोगमाई खोलाको बेलीब्रिज, पुवाखोलाको बेलीब्रिज तथा सिमलगोल क्षेत्रका सडकहरूको अवस्था सुधारका लागि पटक–पटक सदनमा आवाज उठाए पनि सरकारले सुनुवाइ नगरेको गुनासो गरे।

गत वर्षको प्राकृतिक विपत्तिपछि इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरिए पनि आवश्यक बजेट पूर्ण रूपमा उपलब्ध नगराइएको उनको भनाइ थियो। सन्दकपुर, माइजोगमाई, रोङ र सूर्योदय नगरपालिका उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले ती क्षेत्रमा अझै पनि बस्ती विस्थापनको जोखिम कायम रहेको बताए।

राईले माइजोगमाई गाउँपालिका र आसपासका क्षेत्रमा नदी कटानका कारण खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको उल्लेख गर्दै प्रभावित किसानलाई राहत र नदी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरे।

उनले सन्दकपुर अस्पताल, सूर्योदय नगरपालिका–१२ देखि वडा नं. ३ जोड्ने सडक, माइपोखरी–ढापपोखरी–नयाँबजार सडकलगायत स्थानीय विकास आयोजनाहरू अघि बढाउन पनि सरकारसँग आग्रह गरे।

प्रकाशित मिति: १५:३६ बजे, बुधबार, असार ३१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्