संसद् बलियो बनाउन प्रतिपक्षको आवाज अझ प्रभावकारी हुनुपर्छ स् नेता आङदेम्बे
‘घरबाट बलियो आवाज आयो भने सदन पनि बलियो हुन्छ। कहीँ न कहीँ घरकै सदस्य कमजोर परिरहेका छन्। घरको सदस्यको ऊर्जा र विवेक घरबाटै आउने हो,’ उनले भने।
काठमाडौं, असार २९ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले घर बलियो भए सदन पनि बलियो हुने बताएका छन्। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीभित्रबाट प्रभावकारी आवाज उठ्न सके संसद् अझ प्रभावकारी बन्ने धारणा राखे।
‘घरबाट बलियो आवाज आयो भने सदन पनि बलियो हुन्छ। कहीँ न कहीँ घरकै सदस्य कमजोर परिरहेका छन्। घरको सदस्यको ऊर्जा र विवेक घरबाटै आउने हो,’ उनले भने।
आङदेम्बेले कांग्रेसले प्रतिपक्षको भूमिकामा निर्वाह गरेको जिम्मेवारी निराशाजनक नभए पनि त्यसमा थप प्रभावकारिता र उज्यालो ल्याउन आवश्यक रहेको बताए।
उनले संसद् र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ सुदृढ हुनुपर्नेमा जोड दिए। पत्रकारहरूले संसद्लाई नजिकबाट नियाल्ने भएकाले उनीहरूको दृष्टिकोण, सुझाव र आलोचनाले संसदीय अभ्यासलाई मजबुत बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
‘संसद् हेर्ने पत्रकार साथीहरूको भूमिका तेस्रो आँखाजस्तै हुन्छ। उहाँहरूले हामीले नदेखेका धेरै कुरा देखिरहनुभएको हुन्छ,’ उनले भने।
संसदीय समितिहरू छलफल र निर्णयका महत्वपूर्ण थलो भए पनि कतिपय अवस्थामा समितिहरू प्रभावहीन बन्ने अवस्था देखिएको उनले बताए । समितिलाई छलफलको माध्यम बनाउनुपर्नेमा जोड दिँदै उनले संसदीय अभ्यासलाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने बताए।
आङदेम्बेले प्रतिपक्षले मुलुकलाई केन्द्रमा राखेर भूमिका निर्वाह गरिरहेको दाबी गरे । विगतका राजनीतिक अभ्यासको समीक्षा इतिहासले गर्ने भन्दै उनले वर्तमान अवस्थामा पार्टीभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने बताए।
‘संसदीय समितिहरू नै गम्भीर छलफल र निर्णयका मुख्य थलो हुन्। तर कतिपय अवस्थामा समितिहरूलाई प्रभावहीन बनाउने प्रयास भएको अनुभूति हुन्छ। संसद् र समितिको गरिमा कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ। प्रतिपक्षले पार्टीभन्दा माथि उठेर मुलुकको हितलाई केन्द्रमा राखेर भूमिका निर्वाह गरिरहेको छ,’ उनले भने, ‘विगतका अभ्यासको समीक्षा इतिहासले गर्नेछ, तर अहिलेको आवश्यकता राष्ट्रिय हितमा केन्द्रित भएर अघि बढ्नु हो। सभामुखले पनि पार्टीभन्दा माथि उठेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ। सभामुख पार्टीको हुनुहुन्न, उहाँले आफ्नो भूमिकालाई बुझेर काम गर्नुपर्छ।’
कांग्रेस संसदीय दलका नेताले आगामी दिनमा प्रतिपक्षको आवाजलाई थप प्रभावकारी बनाउने र सत्तापक्षलाई जिम्मेवार बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले पार्टीका पदाधिकारीहरूले सञ्चारमाध्यमलाई समय दिएर संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याए । व्यक्तिगत अभिव्यक्तिभन्दा दलको आधिकारिक धारणा प्रमुख सचेतक, सचेतक र नेतृत्वमार्फत आउनुपर्ने उनको भनाइ थियो ।











