रोटरी क्लब अफ नेपाल मण्डलको पदस्थापन
डिस्ट्रिक्ट गभर्नर कार्कीले रोटरी वर्ष २०२६/२७ का लागि नवनिर्वाचित अध्यक्ष उत्तम बाबु भट्टराईलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रेसिडेन्सियल कलर पहिराएका थिए।
काठमाडौँ, असार २७ : रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत नयाँ क्लबको रूपमा स्थापना भएको रोटरी क्लब अफ नेपाल मण्डलको चार्टर सर्टिफिकेट प्रदान तथा प्रथम पदस्थापन समारोह सम्पन्न भएको छ।
गत २४ जुन २०२६ मा रोटरी अन्तर्राष्ट्रियबाट चार्टर (स्वीकृति) प्राप्त गरेको यस क्लबको औपचारिक यात्रा सुरु भएको अवसरमा समारोह आयोजना गरिएको हो।
कार्यक्रमका मुख्य अतिथि एवं रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले क्लबका चार्टर प्रेसिडेन्ट देवेन्द्रलाल श्रेष्ठलाई रोटरी अन्तर्राष्ट्रियको चार्टर सर्टिफिकेट हस्तान्तरण गरे। त्यसलगत्तै डिस्ट्रिक्ट गभर्नर कार्कीले रोटरी वर्ष २०२६/२७ का लागि नवनिर्वाचित अध्यक्ष उत्तम बाबु भट्टराईलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रेसिडेन्सियल कलर पहिराएका थिए।

नवनिर्वाचित अध्यक्ष भट्टराईले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराएका थिए।
समारोहमा मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार युवराज नयाँघरे, डिस्ट्रिक्टका पूर्व गभर्नरहरू, असिस्टेन्ट गभर्नर दीपक श्रेष्ठ, न्यु क्लब एडभाइजर एजाज आलम लगायत विभिन्न रोटरी क्लबका नेतृत्वकर्ताहरू, सञ्चारकर्मी को बाक्लो उपस्थिति थियो।
कार्यक्रममा अध्यक्ष उत्तमबाबु भट्टराईले यस वर्षको रोटरी नारा 'दिगो प्रभाव सिर्जना गरौँ' लाई आत्मसात् गर्दै क्लबले स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रमा ठोस काम गर्ने बताए। क्लबले आफ्नो मुख्य योजनाका रूपमा ‘माउन्टेन क्लिनिङ प्रोग्राम’ अघि सारेको घोषणा गर्यो।

यस अन्तर्गत क्लबका उपाध्यक्ष एवं पर्वतारोही गाइड छिरिङ जाङ्बु शेर्पाले आगामी महिनादेखि सुरु गर्ने १,७०० किलोमिटर लामो 'ग्रेट हिमालयन ट्रेल' पैदल यात्राका क्रममा हिमाली क्षेत्रमा फोहोर व्यवस्थापन र चेतना अभिवृद्धिको कार्यक्रम सञ्चालन गरिने अध्यक्ष भट्टराईले जानकारी दिए।
क्लबले सामुदायिक विद्यालयहरूमा छात्रा मैत्री शौचालय निर्माण, छात्रवृत्ति कोष स्थापना, ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर, 'आरसीसी कालिञ्चोक' तथा 'रोट्र्याक्ट क्लब अफ नेपाल मण्डल' को स्थापना जस्ता सामाजिक कार्यहरूलाई तत्काल अघि बढाउने लक्ष्य राखेको छ।











