Kathmandu Press

बेरुजु घटाउने चुनौती ठूलो छ, लेखा समितिले अब गति लिन्छ : सभापति खड्का

‘आज लेखा समितिको बैठकले पाँचवटा उपसमितिहरू गठन गरेको छ । संयोजकसहित सम्पूर्ण सदस्यहरूको व्यवस्थापन गरिएको छ। यसलाई मैले महत्वपूर्ण कार्यको रूपमा लिएको छु,’ उनले भने।
बेरुजु घटाउने चुनौती ठूलो छ, लेखा समितिले अब गति लिन्छ : सभापति खड्का

काठमाडौं, असार २६ : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले मुलुकमा रहेको ठूलो बेरुजु रकम घटाउनु समितिको प्रमुख चुनौती भएको बताएका छन् ।

शुक्रबार लेखा समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति खड्काले समितिले बेरुजु फस्र्योटका लागि पाँच वटा उपसमिति गठन गरेको जानकारी दिए।

उनले उपसमितिका संयोजकसहित सबै सदस्यहरूको व्यवस्थापन गरिएको र अब समितिले प्रभावकारी रूपमा काम अघि बढाउने बताए।

‘आज लेखा समितिको बैठकले पाँचवटा उपसमितिहरू गठन गरेको छ । संयोजकसहित सम्पूर्ण सदस्यहरूको व्यवस्थापन गरिएको छ। यसलाई मैले महत्वपूर्ण कार्यको रूपमा लिएको छु,’ उनले भने।

सभापति खड्काले हाल करिब ७५५ अर्ब रुपैयाँ बेरुजु रहेको उल्लेख गर्दै त्यसलाई नियमसंगत र प्रक्रियागत रूपमा न्यूनीकरण गर्नु ठूलो चुनौती भएको बताए।

‘सबैभन्दा ठूलो कुरा बेरुजु फस्र्योटको समस्या छ । करिब करिब सात सय ५५ अर्ब बेरुजु छ । अब यो बेरुजुलाई कसरी न्यूनीकरण गर्ने भन्ने ठूलो चुनौती छ,’ उनले भने।

उनले कतिपय बेरुजु दीर्घकालीन (क्रोनिक) प्रकृतिका रहेको भन्दै त्यस्ता बेरुजु व्यवस्थापनका लागि सम्बन्धित पक्षसँग छलफल भइरहेको जानकारी दिए।

सभापति खड्काले अब केही दिनभित्र उपसमितिहरूको कार्यक्षेत्र (टीओआर) तयार गरी काम अघि बढाइने बताए। उनले आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नु अहिले राष्ट्रको प्रमुख चुनौती रहेको उल्लेख गरे ।

‘राष्ट्रको चुनौती भनेको आर्थिक अनुशासन र वित्तीय सुशासन नै हो । जबसम्म हामीले आर्थिक अनुशासन कायम गर्न सक्दैनौँ, वित्तीय सुशासन कायम हुन सक्दैन,’ उनले भने।

उनले लेखा समितिको काम पारदर्शी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारमाध्यमबाट खबरदारी र सहयोग आवश्यक रहेको बताए।

प्रकाशित मिति: १६:२१ बजे, शुक्रबार, असार २६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्