Kathmandu Press

गणेश नेपालीको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सांसद राईको माग

‘२५ वर्षका एउटा युवाले आत्मदाह गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो सभामुख महोदय ? यस सम्बन्धी सरकार गम्भीर भएर लाग्नुपर्छ। र यो घटनालाई सरकारले गम्भीर ढंगले छानबिन गर्नुपर्छ,’ उनले भने।
गणेश नेपालीको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सांसद राईको माग

काठमाडौं, असार २६ : श्रम संस्कृति पार्टीका सांसद आरेन राईले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले २५ वर्षीय युवाले आत्मदाह गर्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए। उनले उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराए।

‘२५ वर्षका एउटा युवाले आत्मदाह गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो सभामुख महोदय ? यस सम्बन्धी सरकार गम्भीर भएर लाग्नुपर्छ। र यो घटनालाई सरकारले गम्भीर ढंगले छानबिन गर्नुपर्छ,’ उनले भने।

राईले पठाओलगायत राइड–सेयरिङ सेवामा आबद्ध श्रमिकहरूको अवस्था पनि सदनमा उठाए । दिनभर मेहनत गरेर पाँच सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी गर्ने श्रमिकलाई पटक–पटक जरिवाना गरिनु उचित नभएको उनको भनाइ थियो। ट्राफिक नियम कार्यान्वयनसँगै सडक पूर्वाधारको अवस्था सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले काठमाडौंका सडक र गल्लीहरूको वास्तविक अवस्था मन्त्रीहरूले स्वयं अवलोकन गर्नुपर्ने बताए।

‘आज एउटा पठाओ राइडरले दिनमा कति कमाउँछ ? ५ सय, ७ सय, हजार ? अनि उनलाई हजार रुपैयाँको चाहिँ फाइन लाइदिछ, उसलाई पटक–पटक फाइन काट्यो भन्ने छ । र हामीले उनलाई कारबाही गराउँदाखेरि, ट्राफिक नियम हामीले चाहिँ कडाई गरिराख्दा खेरि आज हाम्रो बाटोघाटोको अवस्था के छ त? म सरकारलाई आग्रह गर्न चाहन्छु, एकचोटी काठमाडौंको गल्ली–गल्ली र रिङरोड सबै सरकारका चाहिँ मन्त्रीहरु घुम्नको निम्ति म अनुरोध गर्न चाहन्छु,’ उनले भने।

उनले पर्याप्त पूर्वाधार निर्माण नगरी कानुनको कडाइ मात्र गरिनु उचित नहुने धारणा राखे। साथै, ग्रामीण क्षेत्रमा रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको अभावका कारण युवाहरू अवसरको खोजीमा काठमाडौं आउन बाध्य भएको उल्लेख गर्दै यस्ता समस्याको दीर्घकालीन समाधानमा सरकार केन्द्रित हुनुपर्ने बताए।

सांसद राईले गणेश नेपालीको घटनालाई एक व्यक्तिको मात्र नभई संघर्षरत हजारौं युवाको प्रतिनिधि घटनाका रूपमा व्याख्या गर्दै श्रमिकको आम्दानी र राज्यका उच्च पदाधिकारीहरूको खर्चबीचको असमानताप्रति पनि प्रश्न उठाए।

प्रकाशित मिति: १५:०९ बजे, शुक्रबार, असार २६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्