आफ्ना पीडा सुनाउन नागरिकले जिउँदै जल्नुपर्ने अवस्था आयो : सांसद विक
‘सरकारको सय दिन सय दिनमै सीमित हुँदैछ। गणेश नेपालीजस्ता गरिब नागरिकहरूले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको छ,’ उनले भनिन्।
काठमाडौं, असार २६ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विकले सरकारको सय दिनको उपलब्धि सीमित हुँदै गएको आरोप लगाइन्। उनले गरिब तथा विपन्न नागरिकहरूले आफ्ना समस्या समाधान नभएपछि चरम कदम चाल्नुपर्ने अवस्था आएको बताइन्।
‘सरकारको सय दिन सय दिनमै सीमित हुँदैछ। गणेश नेपालीजस्ता गरिब नागरिकहरूले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको छ,’ उनले भनिन्।
उनले नेपाली जनता नै देशका सबैभन्दा सार्वभौम अधिकार सम्पन्न शक्ति भएको उल्लेख गर्दै जनताको धैर्यको परीक्षा नलिन सरकारलाई चेतावनी दिइन्।
‘यो देशमा सबैभन्दा सार्वभौम अधिकार सम्पन्न नेपाली जनता हुन्। हिजो पनि वीर बलभद्र कुँवर, भक्ति थापाजस्ता वीरहरूको अगुवाइमा यो देश बचाएका हुन्। आज पनि नेपाली जनता सार्वभौम छन्,’ उनले भनिन्।
सांसद विकले सरकारमा घमण्ड र अराजकता बढ्दै गए जनताले संविधानले दिएको अधिकार प्रयोग गर्न सक्ने चेतावनी दिइन् ।
उनले गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन्।
‘गणेश नेपालीको घटना पश्चात भएको मृत्युको खबरले निकै दुःखी बनाएको छ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । नाताले उहाँ मेरो कतै आफन्त पनि पर्नुहुन्छ,’ उनले भनिन्।
यसैबीच, गोकर्णेश्वर क्षेत्रमा लोड गरिएको गाडीमा ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु भएको घटनाप्रति पनि सांसद विकले सरकारको ध्यानाकर्षण गराइन्।
उनले उक्त घटना गम्भीर लापरवाहीका कारण भएको भन्दै सम्बन्धित पक्षमाथि आवश्यक छानबिन र कारबाही गर्न माग गरिन् ।



-(1)-1752494016.png)




-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)

