Kathmandu Press

नेपालमा जलन उपचारका लागि पर्याप्त स्रोत–साधन छैनन् : चन्द्र भण्डारी

‘नेपालमा बर्न अस्पताल छ, तर जलन भएका व्यक्तिलाई राख्नका लागि आवश्यक आईसीयूको व्यवस्था छैन। मानिसहरू छिटो आत्तिने भएकाले पनि तत्काल उपचारका लागि लैजान खोज्छन्, तर यहाँ उपचार महँगो भएकाले धेरैलाई समस्या हुने गरेको छ,’ उनले भने।
नेपालमा जलन उपचारका लागि पर्याप्त स्रोत–साधन छैनन् : चन्द्र भण्डारी

काठमाडौं, असार २६ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा जलन ९बर्न० उपचारका लागि आवश्यक स्रोत–साधन र पूर्वाधारको अभाव रहेको बताएका छन् । उनले नेपालमा जलन उपचारका लागि अस्पताल भए पनि गम्भीर अवस्थाका बिरामीलाई आवश्यक पर्ने सुविधा पर्याप्त नभएको बताए।

विहीबार काठमाडौंको राहदानी विभाग अगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली घाइते भएपछि प्रतिक्रिया दिँदै नेता भण्डारीले जलन भएका बिरामीलाई उपचारका लागि आवश्यक पर्ने आईसीयू, दक्ष जनशक्ति र अत्याधुनिक उपकरणको कमी रहेको बताए।

नेता भण्डारीले नेपालमा जलनसम्बन्धी उपचार निकै जटिल भए पनि यस क्षेत्रमा विशेषज्ञ चिकित्सकको संख्या न्यून रहेको उल्लेख गरे।

‘नेपालमा बर्न अस्पताल छ, तर जलन भएका व्यक्तिलाई राख्नका लागि आवश्यक आईसीयूको व्यवस्था छैन। मानिसहरू छिटो आत्तिने भएकाले पनि तत्काल उपचारका लागि लैजान खोज्छन्, तर यहाँ उपचार महँगो भएकाले धेरैलाई समस्या हुने गरेको छ,’ उनले भने।

नेता भण्डारीले जलन उपचारका लागि आवश्यक मेसिन, प्रविधि र अस्पतालको राम्रो व्यवस्थापन नेपालमै भएको भए बिरामीलाई विदेश लैजानुपर्ने अवस्था नआउने बताए।

उनले जलनको उपचार महँगो हुने भएकाले सामान्य नागरिकका लागि थप कठिनाइ हुने गरेको उल्लेख गरे। आफू स्वयं पनि जलनको पीडित भएको स्मरण गर्दै उनले भारतमा गएर उपचार गराउनुपरेको बताए।

‘म आफैं पनि जलनको सिकार भएँ। मैले भारतमै उपचार गराएको हुँ। जलनसम्बन्धी केसमा बिरामीको जीवन बचाउन निकै कठिन हुने गर्छ त्यसैले पनि मानिसहरु आत्तिएर सुविधासम्पन्न अस्पताल जान खोज्छन्,’उनले भने।

नेता भण्डारीले नेपालमा आगलागी तथा अन्य दुर्घटनाबाट घाइते भएका व्यक्तिहरूको उपचारका लागि विशेष व्यवस्था, दक्ष जनशक्ति र आवश्यक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए। 

उनले नेपालमै गुणस्तरीय जलन उपचारको व्यवस्था गर्न सके धेरै जलन बिरामीलाई विदेश जानुपर्ने बाध्यता अन्त्य हुने बताए।

प्रकाशित मिति: १२:१७ बजे, शुक्रबार, असार २६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्