Kathmandu Press

सर्लाहीको सुरक्षा अवस्थाप्रति सांसद भण्डारीद्वारा सरकारको ध्यानाकर्षण

‘सर्लाहीमा कानुन व्यवस्थाको धज्जी उडाइएको छ । गोली चल्नु, कुटपिट हुनु अहिले सामान्य घटना जस्तो बन्दै गएको छ,’ उनले भनिन्।
सर्लाहीको सुरक्षा अवस्थाप्रति सांसद भण्डारीद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, असार २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद नितिमा भण्डारीले सर्लाही जिल्लामा शान्ति सुरक्षा र कानुन व्यवस्था कमजोर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीमा पछिल्लो समय आपराधिक घटना बढ्दै गएको दाबी गर्दै नागरिकले असुरक्षित महसुस गर्ने अवस्था आएको बताइन्।

उनले लालबन्दी नगरपालिका–७ बाट ९ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटामाथि तीन जनाको समूहले आक्रमण गरी लुटपाटको प्रयास गरेको र चार राउण्ड गोली चलाएको घटना उल्लेख गरिन् । प्रहरी चौकी नजिकै यस्तो घटना हुनु गम्भीर विषय भएको उनको भनाइ थियो।

सांसद भण्डारीले ईश्वरपुर–३ मा रामनरेश साहकी श्रीमतीमाथि भएको कुटपिटको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराइन्। जग्गामा पोल गाड्ने विषयलाई लिएर विवाद भएको र अदालतले समेत रोक लगाइसकेको अवस्थामा जबरजस्ती गरिएको उनको भनाइ थियो।

‘सर्लाहीमा कानुन व्यवस्थाको धज्जी उडाइएको छ । गोली चल्नु, कुटपिट हुनु अहिले सामान्य घटना जस्तो बन्दै गएको छ,’ उनले भनिन्।

शान्ति सुरक्षा कायम गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै उनले गृहमन्त्रीसँग पटक–पटक यस्ता घटना हुँदा पनि प्रभावकारी कारबाही किन हुन नसकेको भन्दै प्रश्न गरिन्।

उनले अपराधमा संलग्न जोसुकै भएपनि कानुनी दायरामा ल्याएर निष्पक्ष अनुसन्धान र कडा कारबाही गर्न सरकारसँग माग गरिन् । साथै सर्लाहीमा सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउन र दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिन्।

प्रकाशित मिति: १२:२२ बजे, बिहीबार, असार २५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्