रास्वपा नेता बोहराले उठाए महाकाली सिँचाइ आयोजनामा कूटनीतिक पहल र स्थानीयको समस्या
‘महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना बनेको छ। जुन मेरो निर्वाचन क्षेत्र कञ्चनपुरमा पर्छ । यो आयोजना शारदा ब्यारेज हुँदै महाकाली नदीको पानी दुवै देशले प्रयोग गर्ने भनिएको छ । तर भारतसँग कूटनीतिक पहल नहुँदा यहाँ पानी छोडिएको छैन,’ उनले भने।
काठमाडौं, असार २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिपकराज बोहराले महाकाली सिँचाइ आयोजनाको काम अघि बढाउन भारतसँग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बोहराले कञ्चनपुरमा रहेको महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भए पनि भारतसँगको कूटनीतिक पहल अभावमा महाकाली नदीको पानी प्रयोग हुन नसकेको बताए।
‘महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना बनेको छ। जुन मेरो निर्वाचन क्षेत्र कञ्चनपुरमा पर्छ । यो आयोजना शारदा ब्यारेज हुँदै महाकाली नदीको पानी दुवै देशले प्रयोग गर्ने भनिएको छ । तर भारतसँग कूटनीतिक पहल नहुँदा यहाँ पानी छोडिएको छैन,’ उनले भने।
४८ किलोमिटर लामो आयोजनामध्ये करिब ३० किलोमिटर काम सम्पन्न भएको जानकारी दिँदै उनले पानी सञ्चालनका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतसँग पहल गर्न आग्रह गर।
बोहराले आयोजनाको अन्तिम बिन्दु कृष्णपुर–९ मा स्थानीयको सहमति नलिई नहर निर्माण अघि बढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
‘कृष्णपुर–९ मा यो नहरको अन्त्य हुन्छ । त्यहाँ नहर चाहिन्छ वा चाहिँदैन भन्ने विषयमा स्थानीयसँग सीमांकन गर्दा सोधिएन। जनतालाई त्यो नहर आवश्यक छ कि छैन भनेर बुझिएन,’ उनले भने।
उनका अनुसार वर्षाका बेला उक्त क्षेत्र डुबानमा पर्ने गरेको छ भने स्थानीय तहले सो क्षेत्रलाई आवासीय क्षेत्र घोषणा गरेको छ। तर सरकारले त्यही क्षेत्रबाट नहर लैजान खोजेको भन्दै उनले स्थानीयको माग सम्बोधन गर्नुपर्ने बताए।
‘स्थानीयले हामीलाई नहर चाहिँदैन भनिरहेका छन्। सरकारले किन नहर आवश्यक छ भनेर स्थानीयलाई बुझाउनुपर्छ,’ उनले भने।
उनले सो क्षेत्रमा ऐलानी जग्गा र थोरै जमिन भएका नागरिक रहेकाले नहर निर्माणले उनीहरूको जग्गा प्रभावित हुने डर रहेको उल्लेख गर्दै आयोजना आवश्यकताको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताए।











