Kathmandu Press

प्रधानमन्त्रीलाई संसदमा आएर जवाफ दिन एमाले सांसद राईको माग

‘यो सदन जनताले पठाएका प्रतिनिधिहरूको हो। नियमावलीमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री आएर जवाफ दिनुपर्ने हुन्छ,’ उनले भने।
प्रधानमन्त्रीलाई संसदमा आएर जवाफ दिन एमाले सांसद राईको माग

काठमाडौं, असार २४ : नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा आएर जवाफ दिनुपर्ने माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले संसद्मा उठेका विषयमा जवाफ दिनुपर्ने बताएका हुन्।

उनले प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा व्यक्त गरेको धारणा प्रति प्रतिपक्षी दलहरूले असहमति जनाउँदै आएको उल्लेख गर्दै सभामुखमार्फत प्रधानमन्त्रीलाई संसद्मा बोलाएर जवाफ दिन माग गरे।

‘यो सदन जनताले पठाएका प्रतिनिधिहरूको हो। नियमावलीमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री आएर जवाफ दिनुपर्ने हुन्छ,’ उनले भने।

Hardik ivf

सांसद राईले गाउँघरमा देखिएका समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराए। उनले बाँदर नियन्त्रणका लागि यसअघि गठन गरिएको कार्यदलले के काम गरिरहेको छ भन्ने जानकारी सदनलाई दिनुपर्ने माग गरे।

उनले भने, ‘नयाँ सरकार आइसकेपछि एउटा बाँदर नियन्त्रण गर्न सकिएन भने ठूलो समस्या बन्छ। यस विषयमा सरकारको जवाफ चाहन्छु।’

यसैगरी उनले बेलायत र हङकङमा रहेका पूर्व सैनिक नेपालीहरूलाई लक्षित गरी केही गिरोहले दोहोरो भूमिका खेलिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले यस्ता गतिविधि रोक्न आवश्यक कदम चाल्न माग गरे।

बैठकमा आफ्नो भनाइ राख्ने क्रममा सभामुखले माइक काटेको विषयमा पनि सांसद राईले असन्तुष्टि व्यक्त गरे। उनले आफूले भाषा मिलाएर बोल्न खोजिरहेको अवस्थामा माइक काटिएको बताए।

‘मैले भाषा मिलाउन खोज्दै थिएँ, म अत्तालिएको थिइनँ। शब्द नै नगरिकन माइक काटिदिनुभयो,’उनले भने।

उनले सभामुखप्रति सम्मान रहेको उल्लेख गर्दै सदनमा सांसदहरूले आफ्ना भावना र विचार राख्न पाउनुपर्ने बताए। आवेगमा हुने केही घटनालाई संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने उनको भनाइ थियो।

सांसद राईले प्रधानमन्त्री संसदमा आएर जवाफ नदिए प्रतिपक्षको आन्दोलन जारी रहने चेतावनीसमेत दिए। उनले संसद्लाई संवाद र सहमतिको माध्यमबाट अघि बढाउन आग्रह गरे।

प्रकाशित मिति: १३:१६ बजे, बुधबार, असार २४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्