Kathmandu Press

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले यस वर्षको एक्सपो अघिल्लो संस्करणभन्दा अझ ठूलो, व्यवस्थित र प्रभावकारी हुने बताइन्।
नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

काठमाडौं, असार २२ : आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल मोबिलिटी एक्सपो २०२६ मा ५३ अटोमोबाइल ब्रान्ड तथा ४० नयाँ सवारीसाधन र प्रविधिको सार्वजनिक प्रस्तुति गरिने भएको छ । 

नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा संस्था नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो । 

यस वर्षको एक्सपोमा ५३ वटा अटोमोबाइल ब्रान्डको सहभागिता रहने तथा ४० नयाँ सवारीसाधन र प्रविधिको सार्वजनिक प्रस्तुति गरिने आयोजकले जनाएको हो । 

Hardik ivf

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले यस वर्षको एक्सपो अघिल्लो संस्करणभन्दा अझ ठूलो, व्यवस्थित र प्रभावकारी हुने बताइन्।

उनका अनुसार एक्सपोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारीसाधन, विद्युतीय तथा हाइब्रिड सवारी, चार्जिङ पूर्वाधार र गतिशीलतासँग सम्बन्धित नवीन प्रविधिहरू एकै स्थानमा अवलोकन गर्न सकिनेछ ।

उनले गत वर्ष स्थान अभावका कारण केही कम्पनीलाई स्टल उपलब्ध गराउन नसकिएको उल्लेख गर्दै यस वर्ष पनि सहभागिताप्रति अत्यधिक उत्साह देखिएको बताइन्। यसले नेपालमा अन्तर्राष्ट्रिय स्तरको ठूलो प्रदर्शनी स्थल आवश्यक रहेको स्पष्ट पारेको उनको भनाइ छ।

अध्यक्ष वैद्यका अनुसार एक्सपो केवल सवारीसाधनको प्रदर्शनी मात्र नभई गतिशीलता, नवप्रवर्तन, प्रविधि, शिक्षा र उपभोक्तालाई एउटै मञ्चमा जोड्ने राष्ट्रिय प्लेटफर्मका रूपमा विकास भइरहेको छ।

एक्सपो अवधिभर नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनस्थित अडिटोरियममा विद्यार्थी, सञ्चारकर्मी, उद्योगी, उपभोक्ता तथा अन्य सरोकारवालाका लागि विशेष सिकाइ तथा अन्तरक्रिया सत्र पनि सञ्चालन गरिनेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले विद्युतीय सवारी, भविष्यको यातायात, सडक सुरक्षा र गतिशीलतासम्बन्धी विविध विषयमा प्रस्तुति दिने आयोजकले जनाएको छ।

नाइमाले टिकट बिक्रीबाट प्राप्त आम्दानीको कम्तीमा १० प्रतिशत गतिशीलता क्षेत्रको अनुसन्धान फेलोसिपमा खर्च गर्ने घोषणा पनि गरेको छ। 

उक्त फेलोसिपबाट तयार हुने अध्ययन तथा अनुसन्धानलाई ‘मोबिलिटी जर्नल’ मार्फत सार्वजनिक गरिने जनाइएको छ ।

नाइमा स्थापना भएको एक वर्षमै सदस्य कम्पनीको संख्या २१ बाट ३६ पु¥याएको जानकारी दिँदै उद्योगको साझा आवाजका रूपमा संस्थाले नीति वकालत, सडक सुरक्षा, क्षमता अभिवृद्धि तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको वैद्यले बताइन्।

प्रकाशित मिति: १८:०६ बजे, सोमबार, असार २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्