Kathmandu Press

दुग्ध विकास संस्थानको घोटाला प्रतिवेदन सार्वजनिक गर्न सांसद चौलागाईंको माग

उनले अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानभित्र भएको अनियमितताको छानबिन गर्न २०८१ सालमा समिति गठन गरेको र उक्त समितिले मेसिन तथा औजार खरिदमा १ करोड १७ लाख रुपैयाँको अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको उल्लेख गरे।
दुग्ध विकास संस्थानको घोटाला प्रतिवेदन सार्वजनिक गर्न सांसद चौलागाईंको माग

काठमाडौं, असार २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंले दुग्ध विकास संस्थान (डीडीसी) भित्र भएको भनिएको अनियमितताको छानबिन प्रतिवेदन सार्वजनिक गर्न तथा दूध किसानको बक्यौता भुक्तानी सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानभित्र भएको अनियमितताको छानबिन गर्न २०८१ सालमा समिति गठन गरेको र उक्त समितिले मेसिन तथा औजार खरिदमा १ करोड १७ लाख रुपैयाँको अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको उल्लेख गरे।

Hardik ivf

‘अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानभित्र भएको अनियमितताको विषयमा छानबिन गर्न २०८१ सालमा समिति गठन गर्यो। समितिले प्रतिवेदन पनि बुझायो। त्यस प्रतिवेदनले मेसिन तथा औजार खरिदमा १ करोड १७ लाख रुपैयाँ घोटाला भएको देखाएको छ। त्यो प्रतिवेदन कुन शोकेसमा छ ? कहिले बाहिर निस्किन्छ ? र दूध किसानले कहिले भुक्तानी पाउँछन् ?’ भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

त्यसैगरी, उनले रोजगारीका लागि भारत गएका काभ्रेको नवबुद्ध गाउँका एक नेपाली युवाको शंकास्पद मृत्युबारे पनि सरकारको ध्यानाकर्षण गराए।

‘देशले रोजगारी दिन सकेन। काभ्रे नवबुद्धका एक युवा रोजगारीको खोजीमा भारत पुगे। यही महिनाको १३ गते उनको मृत्यु भयो। घटनालाई शंकास्पद मृत्यु भनिएको छ, परिवारले पनि शंकास्पद भनेको छ। तर सरकार बेखबर छ। घटनाको निष्पक्ष अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

प्रकाशित मिति: १३:४८ बजे, सोमबार, असार २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्