बाँदर, बँदेल र हात्तीको आतंक नियन्त्रण गर्न सांसद शर्माको सरकारसँग माग
‘देशभर बाँदर र बँदेलको समस्याले गरिखाने किसानहरू गाउँ छाडेर हिँड्न बाध्य भएका छन्। किसानले वर्षभरी खानको लागि लगाउने अन्नबाली खेतबारीमा मात्र पसेर होइन, घर भित्र राखेको अन्नबाली समेत पसेर खाइदिने गरेको छ,’ उनले भनिन्।
काठमाडौं, असार २२ : नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाँदर, बँदेल र हात्तीको बढ्दो आतंकका कारण किसानहरू गाउँ छाड्न बाध्य भएको बताएकी छन्।
सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले किसानले वर्षभरि खानका लागि लगाएको अन्नबाली खेतबारीमै नष्ट गर्ने मात्र नभइ घरभित्र भण्डारण गरेर राखिएको अन्नसमेत बाँदरले खाइदिएर दुख दिएको बताइन्।
‘देशभर बाँदर र बँदेलको समस्याले गरिखाने किसानहरू गाउँ छाडेर हिँड्न बाध्य भएका छन्। किसानले वर्षभरी खानको लागि लगाउने अन्नबाली खेतबारीमा मात्र पसेर होइन, घर भित्र राखेको अन्नबाली समेत पसेर खाइदिने गरेको छ,’ उनले भनिन्।
‘एक्लै हिड्डुल गर्दा पनि बाँदरको आक्रमण हुने गरेकाले एक्लै हिड्न डराउनपर्ने अवस्था छ,’ उनले भनिन् ‘बाँदर बँदेल र हत्तीको नियन्त्रण गर्न सरकारले तुरुन्त कदम चालोस्।’
उनले बाँदर, बँदेल र हात्तीलाई तत्काल नियन्त्रण गर्नको लागि प्रभावकारी कदम चाल्न आग्रह गरेकी हुन्।