ठोरी सीमा नाका देखिएको समस्या तत्काल समाधान गर्न सांसद थपलियाको माग
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धि अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा विभिन्न किसिमका समस्याहरू देखिन थालेको उल्लेख गर्दै त्यसको असर ठोरी नाकामा पनि देखापरेको बताइन्।
काठमाडौं, असार २२ : नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया(सीता)ले पर्साको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको ठोरी सीमा नाकामा भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लगाएको घट्नाप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धि अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा विभिन्न किसिमका समस्याहरू देखिन थालेको उल्लेख गर्दै त्यसको असर ठोरी नाकामा पनि देखापरेको बताइन्।
‘पर्सा जिल्लाको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको ठोरी सीमा नाकामा भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लाग्दा पर्यटन व्यवसाय प्रभावित भएको छ। त्यहाँ भन्सार कार्यालयको भवन भए पनि आवश्यक कर्मचारीको व्यवस्था नहुँदा आफ्नै प्रशासनिक कमजोरीका कारण समस्या सिर्जना भएको देखिएको छ,’ अगाडि भनिन्,‘त्यसैले, म सम्माननीय सभामुख महोदयमार्फत ठोरी सीमा नाकाको समस्या तत्काल समाधान गर्न, आवश्यक कर्मचारीको व्यवस्था गर्न र सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’
त्यस्तै उनले सरकारको एकसय दिन सफल नभएको जिकिर गरिन । जनताले सरकारबाट ठूलो अपेक्षा गरेपनि एक सय दिनको समीक्षा गर्दा जनतामा आशाको दियो भन्दा निराशाको आगो बढि बलेको देखिएको उल्लेख गरिन्।
‘सरकारले १०० बुँदे कार्यसूचीमार्फत सुशासन, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणका प्रतिबद्धता जनाएको थियो तर व्यवहारमा जनताले त्यसको अनुभूति गर्न सकेका छैनन् । महँगी बढिरहेको छ, सेवा प्रवाहमा अपेक्षित सुधार देखिएको छैन, र जेनजी आन्दोलनसँग भएको १० बुँदे सहमति कार्यान्वयनमा पनि सरकार गम्भीर देखिएको छैन। सुकुम्बासी हरु आज पनि सरकारको बाटो कुरेर बसिरहेका छन्। भ्रष्टाचारविरुद्ध कडा कारबाही आवश्यक छ तर कारबाही निष्पक्ष, प्रमाणमा आधारित र कानुनी प्रक्रिया अनुसार हुनुपर्छ। अन्यथा सुशासनको सन्देशभन्दा पूर्वाग्रहको आशंका बढ्ने खतरा पनि उत्तिकै छ त्यसैले सरकारले नागरिक संग प्रतिशोध लिन मिल्दैन,’ उनले भनिन्।











-1783320892.png)
