सरकारले जनताको जीवनभन्दा सामाजिक सञ्जालको लाइकलाई बढी प्राथमिकता दियो : गगन थापा
‘वर्तमान सरकारले १०० दिनमा लाइफ भन्दा लाइक महत्त्वपूर्ण छ। सरकारले सोच्दै गर्दा निर्णय गर्दैगर्दा मान्छेको कुनै पनि लाइफलाई के फरक पर्छ भनेर नसोच्ने भयो। त्यसले लाइक कति वटा थप्छ भनेर सोच्ने भयो। यो हाम्रो लागि चिन्ताको विषय बन्यो,’ उनले भने।
काठमाडौं, असार २१ : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले आफ्नो १०० दिने कार्यकालमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाली कांग्रेसले आयोजना गरेको ‘सरकारका १०० दिन र १०० बुँदे कार्यक्रम’ मा बोल्दै थापाले वर्तमान सरकारले १०० दिनमा ‘लाइफ’ भन्दा ‘लाइक’लाई बढी महत्त्व दिएको आरोप लगाएका हुन्।
‘वर्तमान सरकारले १०० दिनमा लाइफ भन्दा लाइक महत्त्वपूर्ण छ। सरकारले सोच्दै गर्दा निर्णय गर्दैगर्दा मान्छेको कुनै पनि लाइफलाई के फरक पर्छ भनेर नसोच्ने भयो। त्यसले लाइक कति वटा थप्छ भनेर सोच्ने भयो। यो हाम्रो लागि चिन्ताको विषय बन्यो,’ उनले भने।
सरकारले परिणाम दिनु महत्त्वपूर्ण भए पनि त्यसका लागि कानुनी प्रक्रिया र विधि मिच्न नहुने थापाले बताए।
सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगप्रति कांग्रेसले सहयोग गरेको बताउँदै उनले कानुनअनुसार काम गर्न सरकारलाई आग्रह गरे।
‘हामी सम्पत्ति छानबिन आयोगलाई विवरण बुझाउने प्रक्रियामा सहभागी हुन्छौँ। तर सरकारलाई हाम्रो आग्रह के हो भने कानुनले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्छ। कार्यकारी आदेशका भरमा यस्ता निर्णय गर्नु हुँदैन,’ उनले भने ।
थापाले वर्तमान सरकारले ‘विधि र प्रक्रिया होइन, परिणाम मात्रै महत्त्वपूर्ण हो’ भन्ने सोचले अगाडी बढेको आरोप लगाए।