Kathmandu Press

नयाँ राजनीतिक शक्ति निर्माणमा मिराज ढुंगाना, ‘एडभान्स डेमोक्रेसी’का पक्षमा बहस

आन्दोलनले पुराना पुस्तालाई विस्थापित गरेकाले पुराना भनिएका दलहरुलाई अगाडि आउने नैतिक धरातल सकिएको टिप्पणी पनि गरे। त्यसको फाइदा रास्वपाले लिएको उनले बताए।
नयाँ राजनीतिक शक्ति निर्माणमा मिराज ढुंगाना, ‘एडभान्स डेमोक्रेसी’का पक्षमा बहस

काठमाडौं, असार २१ : जेनजी अभियन्ता मिराज ढुङ्गानालगायतको समूहले नयाँ राजनीतिक शक्ति निर्माणको तयारी गरिरहेको छ।

नेपाल न्यूज बैंकसँग सरकारको एकसय दिनको समीक्षा संवादका क्रममा ढुङ्गाना चाँडै त्यसको घोषणा गर्ने खुलाए । उनले बालेन्द्र शाह नेतृत्वको सरकारबारे अहिले नै टिकाटिप्पणी गर्न नहुने पनि बताए।

नयाँ शक्ति निर्माणका लागि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग निरन्तर संवाद भइरहेको उनले बताए। ढुंगानालाई जेनजी आन्दोलनपछि बनेको सरकारमा स्वास्थ्यमन्त्रीका रुपमा प्रस्ताव गरिएका डा.जगत विकलगायतको ठूलो समूहले साथ दिइरहेको छ। 

Hardik ivf

कुराकानीका क्रममा अभियन्ता ढुंगानाले आगामी स्थानीय तहको निर्वाचन अगाडि नै अलग्गै राजनीतिक शक्ति निर्माण भइसक्ने र त्यसको तयारी तिब्र रुपमा भइरहेको स्पष्ट पारे। कुराकानीका क्रममा उनले हालसम्म आफ्नो अगुवाइमा भइरहेको आन्दोलनहरु मन्त्री बन्नका लागि नभइ देशलाई एउटा नयाँ लयमा ल्याउनका लागि भएको स्पष्ट पारे। 

‘हामी गत २१ फागुनको निर्वाचनलाई अलिक पछाडि धकेल्न चाहन्थ्यौं । निर्वाचन अलिक डिले गरेर बृहत वैचारिक संवाद गर्न चाहन्थ्यौं । धेरै व्यक्तिहरुलाई एकै ठाउँमा ल्याउन चाहन्थ्यौं। वलियो बैचारिक शक्ति निर्माण गर्नुपर्छ भन्नेमा थियौं । किनकी चित्त बुझेकाहरुलाई एक ठाउँमा ल्याएर वैचारिक शक्ति बनाउन चाहेका थियौं, त्यो नभएपछि हामी निर्वाचनप्रति असन्तुष्ट भयौं,’ उनले विगत कोट्याए।

आफूहरुको अगुवाइमा भएको जेनजी पुस्ताको आन्दोलन पुस्तान्तरणका लागि भएको औंल्याउँदै उनले अब पुस्तान्तरणको वहसलाई व्यवहारमा उतार्ने बेला आएको सुनाए।  

‘आन्दोलनको एउटा उपलब्धि भनेको जनताको मनमस्तिष्कमा पुस्तान्तरण हुनुपर्छ भन्ने चेत खुलेको छ । युवाहरूले गर्छन् वा नयाँले गर्छन् भन्ने आन्दोलनको आउटकम हो। त्यसलाई शसक्त पार्न वा व्यवहारमा उतार्न आवश्यक देखिरहेका छौं । अब पुराना भनिएका पार्टीहरू अगाडि आउने कुनै नैतिक धरातल छैन् । त्यसैले अब योङ्ग भर्सेज योङ्ग हुनुपर्छ, योङ्ग भर्सेज ओल्ड होइन । त्यसकै लागि हामी नयाँ शक्ति बनाउन सबैलाई प्रोत्साहन गरिरहेका छौँ। नयाँ युवा शक्ति बन्नुपर्छ र युवाहरूले नै देशलाई बाटो देखाउनुपर्छ भन्ने हाम्रो अभियान नै छ,’ उनले नयाँ शक्ति निर्माण तयारीबारे स्पष्ट पारे।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा ल्याएको नतिजालाई उनले ‘ल्यान्डस्लाइड भिक्ट्री’को संज्ञा दिए। आन्दोलनले पुराना पुस्तालाई विस्थापित गरेकाले पुराना भनिएका दलहरुलाई अगाडि आउने नैतिक धरातल सकिएको टिप्पणी पनि गरे। त्यसको फाइदा रास्वपाले लिएको उनले बताए।

पुराना पार्टीहरुसँग जनताले सम्बन्धविच्छेद गर्न खोजेको ढुंगानाको तर्क थियो। ‘फागुन २१ को नतिजा अप्रत्यासित हो। पुरानालाई जनताले नरुचाएका हुन्। तर अब रास्वपाको अभिमतलाई पनि सँधै जनताले चित्त नबुझाउलान। यतिबेला पुरानो पार्टीसँग जनताले डिभोर्स गर्नुपर्ने अवस्थामा छन् । मिलापत्र गरेर काम छैन । अब नयाँलाई प्रेरित गर्न वा युवा शक्ति बनाउन हामी लागिरहेका छौं । पुस्तान्तरणका लागि सबैजना सङ्गठित भएर नयाँ र स्वच्छ सोच लिएर हामी सबै एक ठाउँमा आउनुहोस् भन्न पनि चाहन्छु,’ उनले भन ।

कुनै समय आफूले कांग्रेससँग धेरै आशा गरेको भएपनि त्यो आफूले अनुभूति गर्न नपाएको पनि बताए । आफू आशावादी र सकारात्मक सोच बोकेको युवा भएकाले कसैप्रति पूवाग्रह नराख्ने उनले स्पष्ट पारे । नेपालमा अब आफ्नै माटो सुहाउँदो विचार आवश्यक रहेको बताउँदै ढुंगानाले ‘एडभान्स डेमोक्रेसी’का पक्षमा वहस सुरु गरेको उनले जानकारी दिए।

कुराकानीका क्रममा उनले ‘हनिमुन पिरियड’ पूरा गरेको सरकारको सुरुवाती चरण भएकाले तत्काल मूल्यांकन वा टिप्पणी गर्नु ठिक नहुने भन्दै सरकारले तयार गरेको सय बुँदे वाचा पत्र हालसम्म ३०–४० प्रतिशत मात्र पूरा गरेको पनि बताए। 

संघीय संसदमा प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति र उपस्थितिबारे ढुंगानाले प्रश्न समेत उठाए। ‘लोकतान्त्रिक मुलुकको संसदमा प्रधानमन्त्री जवाफदेही बन्नुपर्छ । प्रधानमन्त्रीलाई निर्वाचित गरेर पठाउँदा उहाँको सट्टामा पार्टीको सभापति वा परराष्ट्र मन्त्रीले बोल्नुपर्छ भनेर पठाएको होइन । उहाँ जाने, बुझेको र परिपक्व व्यक्ति भनेर प्रधानमन्त्री निर्वाचित गरेर पठाएको हो । त्यसैले जबाफदेही हुनलाई उहाँ आफै बोल्न आउनुपर्छ,’ उनले भने 

प्रधानमन्त्रीका यस्ता गतिविधिले लोकतन्त्रलाई हानी पुर्याउने उनको आंकलन छ । कूटनीतिक मर्यादालाई पनि प्रधानमन्त्रीले ख्याल गर्नुपर्नेमा उनको सुझाव छ।

प्रकाशित मिति: ११:४७ बजे, आइतबार, असार २१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्