रुकुम र रुपन्देहीमा भएकाे हत्या घटनामा सरकारले न्याय प्रदान गरोस : एम्नेस्टी इन्टरनेसनल
काठमाडौं, जेठ १६ : एम्नेस्टी इन्टरनेसनल, नेपालले रुकुम पश्चिम र रुपन्देही भएकाे हत्या घटनामा पीडितलाई न्याय प्रदान गर्न सरकारलाई सचेत गराएको छ।
....
काठमाडौं, जेठ १६ : एम्नेस्टी इन्टरनेसनल, नेपालले रुकुम पश्चिम र रुपन्देही भएकाे हत्या घटनामा पीडितलाई न्याय प्रदान गर्न सरकारलाई सचेत गराएको छ।
रुपन्देहीमा बलात्कारीसँग जबर्जस्ती विवाह गराइएकी एकजना १२ वर्षीया बालिका हत्या र रुकुम पश्चिममा पाँच जनाको हत्या घटनामा तत्काल प्रभावकारी अनुसन्धान गरी पीडितलाई न्याय प्रदान गर्नुपर्ने एम्नेस्टी इन्टरनेसनलले जनाएको छ। जेठ १० गते रुपन्देहीको देवदहमा १२ वर्षीया बालिकाको शव रूखमा झुण्डिएको अवस्थामा फेला परेको थियो।
अघिल्लो दिन उनलाई बलात्कार गर्ने कथित माथिल्लो जातको पुरुषसँग उनको जबर्जस्ती विवाह गराइएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनलाई बलात्कारपछि हत्या गरिएको देखिएको छ।
त्यहि दिन रुकुम पश्चिमको सोती गाउँमा १८ जना युवामाथि स्थानीय वासिन्दाले आक्रमण गरेका थिए। प्रेमिकासँग भागेर विवाह गर्न गएका नवराज विकसहित १८ जनामाथि आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ भने एक जना भेरी नदीमा वेपत्ता भएका छन्।
यी दुवै दुखान्त घटनाहरूमा स्थानीय सरकारका प्रतिनिधिहरू मुछिएका कारण यी घटनाहरूको स्वतन्त्र र प्रभावकारी अनुसन्धान हुनुपर्ने एम्नेस्टीले जनाएको छ।
रुपन्देहीकी बलात्कारमा परेकी १२ वर्षीया बालिकाको जबर्जस्ती विवाह गराउने गाउँलेहरूको समूहमा सोही गाउँका वडाध्यक्षको पनि संलग्नता रहेको छ।
त्यस्तै, रूकुम पश्चिमका अर्का वडाध्यक्ष दलित युवाहरूलाई आक्रमण गर्ने समूहमा सामेल छन्। 'यी भयानक मृत्युका घटनाहरूले नेपालमा दलित समुदायले सामना गरिरहेको विभेद र हिंसाको उजागर गर्दछन् जहाँ कानुन र नीतिहरूलाई पर्याप्त रूपमा कार्यान्वयन गरिएको छैन र प्रभावित समुदायहरूले संरक्षणको अभाव झेलिरहेका छन्', एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भनेका छन्।
एम्नेस्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'दुवै दुखान्त घटनाहरूमा स्थानीय जनप्रतिनिधिहरूको संलग्नता भएको र पीडितहरूले न्याय नपाउने त्रास अनुभव गरेका कारण यी घटनाहरूमा स्वतन्त्र, निष्पक्ष र प्रभावकारी अनुसन्धान हुनु अत्यावश्यक छ। सन्दिग्ध पीडकहरूलाई पीडित र तिनका परिवारको आँखामा विश्वसनीय ठहर्ने प्रकृयाका माध्यमबाट जवाफदेही बनाइनुपर्दछ।'
रुकुम पश्चिम घटनामा नवराज र टिकाराम सुनारको शव जेठ ११ गते भेरी नदी किनारमा फेला परेको थियो। त्यस्तै, जेठ १२ गते गणेश बुढामगर, जेठ १४ गते लोकेन्द्र सुनार र जेठ १५ गते सन्जु बिकको शव भेरी नदी किनारमै भेटिएको थियो। यसमा एक जना युवक अझै वेत्ता छन्।
'यो भयानक हिंसाले नेपालमा लामो समयदेखि विद्यमान जातीय विभेद, बहिष्करण तथा दलित हिंसालाई प्रश्रय दिइराखेको संरचनात्मक समस्यालाई उजागर गरेको छ,' एम्नेस्टीका निर्देशक थपलियाले भनेका छन्।











