‘नेपाल ‘ग्रे’बाट ‘ब्ल्याक लिस्ट’मा झर्ने उच्च जोखिममा छ’
०८१ फागुनदेखि नेपाल ग्रे लिस्टमा रहेको उनले उल्लेख गरे। उनले तदारुकताका साथ आवश्यक सुधार र सुशासनका कामलाई तीव्रता दिन नसके मुलुक ब्ल्याक लिस्टमा पुग्न सक्ने उनले बताए।
काठमाडौं, असार २० : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल ‘ग्रे’बाट ‘ब्ल्याक लिस्ट’मा झर्ने उच्च जोखिममा रहेको बताएका छन्।
राष्ट्रियसभामा बैठकमा ‘सम्पत्ति शुद्धीकरण निवारण ९तेस्रो संशोधन० विधेयक, २०८३’ माथि सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले तत्काल आवश्यक सुधार गर्न आवश्यक रहेको बताएका हुन्।
०८१ फागुनदेखि नेपाल ग्रे लिस्टमा रहेको उनले उल्लेख गरे। उनले तदारुकताका साथ आवश्यक सुधार र सुशासनका कामलाई तीव्रता दिन नसके मुलुक ब्ल्याक लिस्टमा पुग्न सक्ने उनले बताए।
‘तदारुकताका साथ हामीले काम गनै सकेनौँ भने हामी ब्ल्याक लिस्टतिर झर्दै छौँ र ब्ल्याक लिसटमा झर्नु भनेको बाँकी दुनियाँसँग हाम्रो तमाम वित्तीय सम्बन्धहरू टुट्नु हो । रेमिट्यान्समा आश्रित देशमा विदेशी लगानी ल्याउनुपर्नेछ, हाम्रो साखलाई माथि उकास्नु छ, हामी गर्नुपर्ने सुशासनका नियमित कर्महरू नगरी सुशासनमा चुक्दाखेरि हामी हाइटी, सोमालियाजस्ता मुलुकहरूको दर्जामा झर्ने जोखिम प्रबल हुँदै गइरहेको छ,’ उनले भने।
अर्थमन्त्री वाग्लेले ब्ल्याक लिस्टमा परेमा नेपाल सोमालिया, हाइटीजस्तो मुलुकको दर्जामा रहने सुनाए। उनले नेपालको अन्तर्राष्ट्रिय साख उकास्न सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेकाले यो विधेयक ल्याइएको जिकिर गरे।
उनले कानुनको प्रभावकारी कार्यन्वयन गर्न नसक्दा मुलुक ग्रे लिस्टमा परेको बताए।
उनले वर्तमान सरकार सुशासनसम्बन्धी कार्यमा निर्मम भएर लागेको बताए। सम्पत्ति शद्धिकरणसम्बन्धी मुद्दालाई प्रतिशोधको हतियार आफूहरूले नबनाउने उनको भनाइ थियो।












