Kathmandu Press

बैंगलोरमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्न सांसदको माग

उनले दक्षिण भारतको प्रमुख आर्थिक तथा प्रवासी केन्द्रका रूपमा रहेको बैंगलोरमा नेपाल सरकारको आधिकारिक महावाणिज्य दूतावास वा कूटनीतिक नियोग स्थापना गर्न सरकारसँग आग्रह गरे।
बैंगलोरमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्न सांसदको माग

काठमाडौं, असार १८: नेकपा एमालेका सांसद ऐन महरले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भारतको बैंगलोरस्थित चन्द्रपुर अपार्टमेन्टमा कार्यरत बझाङको केदारस्युँ गाउँपालिका–४ निवासी विजयराज भट्टको कार्यस्थलमै कुटपिटबाट मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाको गम्भीर छानबिन र आवश्यक कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।

Hardik ivf

उनले मृतकको शव हाल बैंगलोरको सूर्य सिटी प्रहरी कार्यालयमा रहेको जानकारी दिँदै सरकारले घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताए।

सांसदले दक्षिण भारतका विभिन्न राज्यमा करिब २० लाखभन्दा बढी नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी तथा पेशाकर्मी बसोबास गरिरहेको उल्लेख गर्दै उनीहरू नागरिकता, राहदानी, श्रम विवाद, कानुनी सहायता, उद्धार, मृत्यु तथा दुर्घटना व्यवस्थापन, लगानी प्रवद्र्धन तथा सरकारी सेवामा पहुँचका विषयमा विभिन्न समस्या भोगिरहेको बताए।

उनले दक्षिण भारतको प्रमुख आर्थिक तथा प्रवासी केन्द्रका रूपमा रहेको बैंगलोरमा नेपाल सरकारको आधिकारिक महावाणिज्य दूतावास वा कूटनीतिक नियोग स्थापना गर्न सरकारसँग आग्रह गरे।

उनका अनुसार यस्तो नियोग स्थापना गर्नु केवल कूटनीतिक सम्बन्ध विस्तारको विषय मात्र नभई विदेशमा रहेका नेपाली नागरिकप्रति राज्यको दायित्व र संरक्षण सुनिश्चित गर्ने विषय पनि हो।

सांसदले विदेशमा रहेका नेपालीलाई केवल रेमिट्यान्स पठाउने माध्यमका रूपमा नभई राष्ट्र निर्माणका साझेदार नागरिकका रूपमा सम्मान गर्नुपर्ने उल्लेख गर्दै बैंगलोरमा नेपाली नियोग स्थापना गर्न आवश्यक कूटनीतिक, प्रशासनिक तथा नीतिगत पहल तत्काल अघि बढाउन सरकारसँग माग गरे।

उनले राज्यको पहुँच नागरिकसम्म पुग्नुपर्ने भन्दै नागरिकले सामान्य सेवा लिन हजारौं किलोमिटर यात्रा गर्नुपर्ने अवस्था लोकतान्त्रिक शासन व्यवस्थाका लागि उपयुक्त नभएको धारणा व्यक्त गरे। साथै, “जहाँ नेपालीको ठूलो उपस्थिति, त्यहाँ नेपालको आधिकारिक उपस्थिति“ भन्ने सिद्धान्त व्यवहारमा लागू गर्न सरकारलाई आग्रह गरे।

प्रकाशित मिति: १५:२३ बजे, बिहीबार, असार १८, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्