रास्वपा महाधिवेशन : खुला केन्द्रीय सदस्यमा जगदीश खरेलको उम्मेदवारी
महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिहरूले आफू जिम्मेवारीमा आउनुपर्ने आग्रह गरेपछि उम्मेदवारी दिने निर्णयमा पुगेको खरेलले बताएका छन् ।
चितवन, असार १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा खुला केन्द्रीय सदस्यामा जगदीश खरेलको उम्मेदवारी दिएका छन्।
झण्डै अढाइ दशक लामो पत्रकारिता अनुभव बोकेका खरेल सञ्चार क्षेत्र हुँदै राजनीतिमा सक्रिय भएका व्यक्तित्व हुन्।
जेनजी आन्दोलनपछि बनेको सरकारमा सञ्चार मन्त्री तथा सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेका खरेलले सरकारमा रहँदा निर्वाचन सफल बनाउन समन्वयकारी भूमिका निर्वाह गरेका थिए । ललितपुर–२ बाट निर्वाचित खरेल स्पष्टवक्ता, अध्ययनशील र बौद्धिक व्यक्तित्वका रूपमा परिचित छन्।
महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिहरूले आफू जिम्मेवारीमा आउनुपर्ने आग्रह गरेपछि उम्मेदवारी दिने निर्णयमा पुगेको खरेलले बताएका छन् । उनले आफ्नो क्षमता र भूमिकाको मूल्यांकन प्रतिनिधिहरूले गर्ने विषय भएको उल्लेख गर्दै विगतका जिम्मेवारीहरू सबैसामु छर्लङ्ग रहेको बताए ।
‘मैले पत्रकारिता गर्दा कसरी भूमिका निभाएँ, सञ्चारमन्त्री हुँदा निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व कसरी पूरा गरेँ, त्यो सबैसामू छर्लङ्ग छ,’ खरेलले भने।
उनले संसदमार्फत जनताको आवाज सरकारसम्म पु¥याउन पनि आफूले कुनै कसर बाँकी नराखेको बताए । पार्टीको जिम्मेवारी प्राप्त भए त्यसलाई पनि प्रभावकारी रूपमा निर्वाह गर्ने दृढ संकल्पका साथ आफू अघि बढेको उनको भनाइ छ।
महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै पार्टीभित्र अनुभव, क्षमता र वैचारिक योगदान भएका व्यक्तिहरूको प्रतिनिधित्वलाई लिएर बहस भइरहेको अवस्थामा खरेलको उम्मेदवारीलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।












