रोनाल्डेको कीर्तिमानी गोलमा पोर्चुगलको सानदार जित
मंगलबार राति अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगलका कप्तान रोनाल्डोले दुई गोल गरे भने नुनो मेन्डेस र राफायल लिआओले पनि गोल गरे। अर्को गोल आत्मघाती भएको थियो।
काठमाडौं, असार १० : फिफा विश्वकप २०२६ मा पोर्चुगलले सानदार जित निकालेको छ। क्रिस्टियानो रोनाल्डोले सानदार प्रदर्शन गरेपछि पोर्चुगलले उज्बेकिस्तानलाई ५–० ले हरायो।
मंगलबार राति अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगलका कप्तान रोनाल्डोले दुई गोल गरे भने नुनो मेन्डेस र राफायल लिआओले पनि गोल गरे। अर्को गोल आत्मघाती भएको थियो।
रोनाल्डोले खेलको छैटौं मिनेटमै गोल गर्दै पोर्चुगललाई सुरुमै अग्रता दिलाएका थिए। समूहको पहिलो खेलमा डिआर कंगो विरुद्ध गोल गर्न असफल भएका रोनाल्डोले उज्वेकिस्तान विरुद्ध सुरुमै गोल गर्दै ६ विश्वकपमा गोल गर्ने एक्लो खेलाडी बने।
रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गरेका छन्।
१७औं मिनेट मेन्डेसले फ्रिकिक मार्फत गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे। रोनाल्डोले पहिलो हाफमा दोस्रो गोल गर्ने क्रममा ३९औं मिनेटमा गोल थपे । यो गोलले पहिलो हाफमा पोर्चुगलले ३–० को अग्रता बनायो ।
पहिलो हाफमै दुई गोल गरेका रोनाल्डो पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बने। उनले युसोबियाको नाममा रहेको ९ गोलको कीर्तिमान तोडे। उनले १० गोल गरेका छन्।
पहिलो हाफमा तीन गोलको अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएको थियो। उज्वेकिस्तानका गोलकिपर अब्दुभोहिद नेमातोभले ६०औं मिनेटमा बल क्लियर गर्ने क्रममा गोल गरेका थिए।
पोर्चुगल यतिमै रोकिएन। वेकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका लिआओले ८७औं मिनेटमा गोल गरे।












