नौ वर्षपछि पलेँटीमा गुञ्जिँदै गायक विधान श्रेष्ठ
उनले सुनसरीका चर्चित सङ्गीतकार तथा गीतकार आफ्ना पिता विजय श्रेष्ठको मार्गदर्शनमा आफ्नो साङ्गीतिक व्यक्तित्व विकास गरेका हुन्। विजय श्रेष्ठ जसले प्रसिद्ध गायक दीप श्रेष्ठका निम्ति पनि गीति सृजना गरेका छन्।काठमाडौं, असार ९ : अङ्ग्रेजी महिनाको अन्तिम सप्ताहान्त नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रममा यसपटक गायक विधान श्रेष्ठ प्रस्तुत हुने भएका छन्। विधानले आजभन्दा ९ वर्ष पहिले पनि यस मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए।
कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा हुने पलेँटी कार्यक्रमका निम्ति गायक विधान पलेँटीका वाद्यवादकसँग अभ्यासमा जुटिरहेका छन्।
विधान श्रेष्ठ लोक तथा देशभक्तिपूर्ण गीतहरूका लागि परिचित गायक हुन्। श्रेष्ठ साङ्गीतिक परिवारमा हुर्किएका गायक हुन्। उनले सुनसरीका चर्चित सङ्गीतकार तथा गीतकार आफ्ना पिता विजय श्रेष्ठको मार्गदर्शनमा आफ्नो साङ्गीतिक व्यक्तित्व विकास गरेका हुन्। विजय श्रेष्ठ जसले प्रसिद्ध गायक दीप श्रेष्ठका निम्ति पनि गीति सृजना गरेका छन्।
विधानको स्वरमा गुञ्जेका ‘माछी मार्न जाऊँ दाजै कालापानीमा’, ‘बुहारी झारझैँ लजालु...’, ‘आज नाच्छे मेरी गौरी...’, ‘कान्छीको अल्लारे जोवन...’ जस्ता थुप्रै लोकप्रिय गीत रहेका छन्।
'पलेँटीको मञ्चमा नौ वर्षपछि फेरि गाउन पाउँदा अत्यन्त खुसी लागेको छ। मैले सम्मान गर्ने धेरै अग्रज कलाकारहरूले यस मञ्चलाई गौरव लाग्दो बनाइसक्नु भएको छ। त्यसैले यो मञ्च मेरो निम्ति साङ्गीतिक मन्दिर जस्तै हो,' विधान भन्छन्, 'मेरो झण्डै तीन दशक लामो साङ्गीतिक यात्रामा यो कार्यक्रमले थप उचाई दिने आशा लिएकोछु।' कार्यक्रमको महत्व बारे विधानको थप प्रतिक्रिया थियो।
पलेँटीका संयोजक सङ्गीतकर्मी आभास भन्छन्- 'नौ वर्षपछि पलेँटीमा गाउन तयार रहेका विधान अहिले झन् परिपक्व र परिमार्जित सुनिन्छन् । विधानका गीतहरूमा मौलिकताको छुट्टै पहिचान छ। पलेँटीमा विधानलाई फेरि निम्त्याउन पाउँदा रमाइलो लागेको छ।'
पलेँटी नेपालयद्वारा आयोजित एउटा लघु र विशिष्ट सांगीतिक शृङ्खला हो, जहाँ गायक, सङ्गीतकार र रचनाकारहरू श्रोतासँग निकटतम रहेर प्रस्तुत हुने गर्छन्। नेपाली आधुनिक सङ्गीतलाई पुनर्जीवित गर्ने तथा कलाकार र श्रोताबीचको दूरी कम गर्ने उद्देश्यले पलेँटी २१ वर्षदेखि आयोजना हुँदै आएको छ।
यसपालीको पलेँटी यही जुन महिनाको सप्ताहान्त अर्थात् २६ र २७ तारिख शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको 'आर'शालामा सम्पन्न हुनेछ। पलेँटी कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ । युवा पुस्तालाई कार्यक्रमको पहुँचमा सहजीकरण गर्नका निम्ति बिद्यार्थी सहुलियत कोटामा पनि टिकेट उपलब्ध हुँदै आएको छ।
'आर'शालामा उपस्थित हुन असमर्थ सङ्गीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्न मिल्नेगरि 'लाइभ स्ट्रिमिङ'को पनि व्यवस्था गरिएको छ । त्यसका निम्ति पलेँटीको वेभ साइटमा रहेको Purchase Live Access बटनमा क्लिक गरेर आफ्नो वालेट प्रयोग गर्नुपर्ने हुन्छ । त्यसपछि प्राप्त हुने लिङ्क प्रयोग गरेर संसारभरिबाट पलेँटीको प्रत्यक्ष आनन्द लिन सकिन्छ ।










-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)