रास्वपा बाग्मती प्रदेशबाट केन्द्रीय सदस्यमा पर्यटनका अनुभवी सुमन पाण्डेकाे उम्मेदवारी
युवालाई विदेश पलायन हुन बाध्य बनाउने अवस्थाको अन्त्य गर्दै उद्यमशीलता प्रवर्द्धनमार्फत स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा उनको जोड छ।
काठमाडौं, असार ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पर्यटन विभाग प्रमुख सुमन विक्रम पाण्डेले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
चितवनमा जारी रास्वपाको केन्द्रीय महाधिवेशनमा उनी बाग्मती प्रदेश (भूगोल) खुला तर्फबाट केन्द्रीय सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका हुन्। बाग्मती प्रदेश (भूगोल) बाट ५ जना निर्वाचित हुने व्यवस्था छ । जसमा २ जना महिला अनिवार्य हुनेछन्।
करिब ३८ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय पाण्डे नेपालका अनुभवी पर्यटन व्यवसायीका रूपमा परिचित छन्।
ट्राभल, ट्रेकिङ, हवाई सेवा तथा अन्तर्राष्ट्रिय स्तर कार्यक्रम व्यवस्थापन लगायत पर्यटन क्षेत्रका विविध आयाममा योगदान पुर्याउँदै आएका उनले अब आफ्नो व्यावसायिक अनुभव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध र नेतृत्व क्षमतालाई पार्टीको नीति निर्माण तथा देशको आर्थिक रूपान्तरणमा केन्द्रित गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताए।
राजनीतिको मूल उद्देश्य सही नीति निर्माणमार्फत देशलाई समृद्धितर्फ अग्रसर गराउनु हो। यही विश्वासका साथ उनले आफ्नो उम्मेदवारीलाई पाँच मुख्य आधार स्तम्भमा केन्द्रित गरेको उनले बताएका छन् ।
पाण्डेले पहिलो प्राथमिकतामा आफ्नो ३८ वर्षको उद्यमशील अनुभवलाई पार्टीको नीति निर्माणमा उपयोग गर्दै रास्वपालाई आर्थिक विषयमा थप सबल र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरी, पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधार बन्न सक्ने उल्लेख गर्दै उनले पर्यटनको अथाह सम्भावनालाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न नीतिगत रूपमा व्यावसायिक दृष्टिकोण स्थापित गर्ने एजेण्डा अघि सारेका छन्।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष, एयरलाइन्स एसोसिएसन अफ नेपाल (आवान) का पूर्व महासचिव तथा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका पूर्व अध्यक्षका रूपमा उनले पर्यटन क्षेत्रको नेतृत्वदायी अनुभव बटुलेका छन्।
अन्तर्राष्ट्रिय स्तरमा समेत पाटा मुख्यालयमा कोषाध्यक्ष, सचिव तथा उपाध्यक्षको जिम्मेवारी सम्हालेका पाण्डेलाई हालै पाटा अन्तर्राष्ट्रियले आजीवन सदस्यता प्रदान गरी सम्मान गरेको थियो। उनको विश्वास छ कि पर्यटनलाई राष्ट्रिय आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्न सके लाखौं युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न सकिन्छ।
उम्मेदवारीको अर्को महत्वपूर्ण पक्ष युवा उद्यमशीलता र स्वरोजगार रहेको छ। युवालाई विदेश पलायन हुन बाध्य बनाउने अवस्थाको अन्त्य गर्दै उद्यमशीलता प्रवर्द्धनमार्फत स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा उनको जोड छ। पाण्डेले राजनीतिक संस्कारमा समेत परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै कुरा र गफभन्दा परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
“उद्यम, नवप्रवर्तन र परिणाममुखी कार्यशैलीलाई राजनीतिको नयाँ संस्कार बनाउन आवश्यक छ,” उनले भने ।
सामाजिक तथा वातावरणीय क्षेत्रमा समेत सक्रिय पाण्डेले नुवाकोटमा सञ्चालन गरेको ‘हरियो नुवाकोट’ अभियानमार्फत करिब डेढ लाख सुन्तला, कागती र एभोकाडोका बिरुवा वितरण गरी कृषकको आयआर्जन वृद्धि तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–२ बाट रास्वपाका उम्मेदवार बनेका पाण्डेले १६ हजार ४ सय ७७ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए । उक्त मत परिणामले नुवाकोटमा उनको राजनीतिक प्रभाव र जनविश्वासलाई स्पष्ट रूपमा स्थापित गरेको थियो।
हाल रास्वपाको पर्यटन विभाग प्रमुखको जिम्मेवारी सम्हालेका पाण्डेले पार्टीभित्र नीति, संगठन र पर्यटन क्षेत्रको अनुभवलाई संस्थागत गर्दै रास्वपालाई वैचारिक तथा सांगठनिक रूपमा थप परिपक्व, सक्षम र परिणाममुखी बनाउने लक्ष्यका साथ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताए।
“परिवर्तन सम्भव छ, र त्यो परिवर्तन आर्थिक क्रान्ति तथा सक्षम नीतिबाट मात्रै सुनिश्चित हुन्छ,” उनको उम्मेदवारीले पार्टी नेतृत्वमा नयाँ ऊर्जा, व्यावसायिक दक्षता र परिणाममुखी सोच थप्ने अपेक्षा गरिएको छ । रास्वपाभित्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन, उद्यमशीलता र सक्षम नीति निर्माणको बहस तीव्र बन्दै गइरहेका बेला पाण्डेको उम्मेदवारीलाई महाधिवेशनको महत्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ।












