Kathmandu Press

रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

उनले आफूले दशकभन्दा बढी समयदेखि अघि सारेको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा रास्वपालाई ग्रहण गरेको समेत उल्लेख गरे।
रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

काठमाडौं, असार ७ : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई नेपालको इतिहासमा नयाँ राजनीतिक क्रान्तिको महत्वपूर्ण कडीका रूपमा लिनुपर्ने बताएका छन्।

आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाले छोटो अवधिमै जनताको मन जितेर, आधुनिक विज्ञान र प्रविधिको प्रयोगमार्फत ऐतिहासिक सफलता हासिल गरेको बताए।

‘मेरो सबै समय उहाँलाई दिनेगरी मैले के मात्रै भन्न खोजें भने रास्वपाले चार वर्ष भित्रै, जुन उपलब्धि हासिल गर्यो। आन्दोलन र संघर्ष गरेर, भन्दा पनि जनताको मन जितेर, आधुनिक विज्ञान प्रविधिमार्फत आफ्नो विचार सम्प्रेषण गरेर, जसरी ऐतिहासिक सफलता हासिल गर्नुभएको छ, यसलाई नेपाल इतिहासको नयाँ एउटा क्रान्तिको कडीको रुपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने।

Hardik ivf

उनले आफूले दशकभन्दा बढी समयदेखि अघि सारेको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा रास्वपालाई ग्रहण गरेको समेत उल्लेख गरे।

डा.भट्टराईले पुराना राजनीतिक शक्तिहरूले रास्वपाको उदयलाई विभिन्न षड्यन्त्र सिद्धान्तमार्फत व्याख्या गर्न खोजेको टिप्पणी गर्दै समाज परिवर्तनका पक्षमा उभिने शक्तिहरूले सत्य र न्यायको पक्षमा दृढ रहनुपर्ने बताए।

उनले नेपालको लोकतान्त्रिक आन्दोलनलाई पुस्तान्तरणको निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै पहिलो पुस्ताले लोकतन्त्रको जग बसालेको, दोस्रो पुस्ताले गणतन्त्र र संविधानसभा स्थापना गरेको र अब नयाँ पुस्ताले सुशासन तथा समृद्धिको शिखरमा देशलाई पु¥याउनुपर्ने धारणा राखे।

उनले रास्वपा र त्यसका नेतृत्वले नेपाललाई विश्वसामु नमुना राष्ट्रका रूपमा स्थापित गर्ने अवसर प्राप्त गरेको बताए।

भट्टराईले अब रास्वपाले आफ्नो पुरानो चुनावी नारालाई ‘चुपचाप घण्टीमा छाप’ बाट ‘चुपचाप सुशासन र विकास’ मा रूपान्तरण गर्नुपर्ने सुझाव दिए।

उनले विदेशिएका लाखौँ नेपाली युवाको अपेक्षा सुशासन र समृद्धिसँग जोडिएको भन्दै पार्टीले त्यसलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।

महाधिवेशनले विचार, नीति, कार्यक्रम र नेतृत्व चयन गर्ने भएकाले वैचारिक स्पष्टता अत्यन्त आवश्यक रहेको उनको भनाइ थियो। उनले रास्वपाले प्रस्ताव गरेको ‘संवैधानिक समाजवाद’ को अवधारणालाई अझ स्पष्ट बनाउनुपर्ने सुझाव पनि दिए।

भट्टराईले पुरानो पुस्ताका नेताहरूलाई पनि नयाँ पुस्ताको उदयलाई सकारात्मक रूपमा लिन आग्रह गरे। उनले अकबर–बिरबलको प्रसंग सुनाउँदै नयाँ पुस्तालाई तान्नेभन्दा सहयोग र मार्गदर्शन गर्ने संस्कार विकास गर्नुपर्ने बताए।

उनले अहंकारबाट टाढा रहँदै फरक विचारलाई पनि सम्मान गरेर लोकतान्त्रिक ढंगले अघि बढ्न रास्वपा नेतृत्वलाई सुझाव दिँदै महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरे।

प्रकाशित मिति: १७:५७ बजे, आइतबार, असार ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्