Kathmandu Press

रास्वपाको जनमत राष्ट्रिय हितको रक्षामा केन्द्रित होस् : प्रदीप ज्ञवाली

उनले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय, समावेशिता तथा उत्तरदायी राज्यको अवधारणालाई आत्मसात गर्दै रास्वपा अघि बढ्नुपर्ने सुझाव दिए।
रास्वपाको जनमत राष्ट्रिय हितको रक्षामा केन्द्रित होस् : प्रदीप ज्ञवाली

काठमाडौं, असार ७ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनादेशलाई लोकतन्त्रको सुदृढीकरण, राष्ट्र निर्माण र जनताको हितमा सदूपयोग गर्नुपर्ने बताएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले राजनीतिक दलका लागि महाधिवेशन नेतृत्व चयन र नीति तथा कार्यदिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर भएको बताए। उनले महाधिवेशनले रास्वपाको स्पष्ट वैचारिक मार्गचित्र तय गर्नुपर्ने आवश्यकता औंल्याए।

‘राष्ट्रिय राजनीतिमा रास्वपा कहाँनिर उभिने छ, यो प्रश्न सबैका सामु छ। किनभने एउटा राजनीतिक पार्टी निर्माणका लागि उसले लिने सिद्धान्त, उसले लिने कार्यदिशा, उसको पोलिटिकल फिलोसफीको साह्रै ठूलो महत्त्व हुन्छ । तपाईँहरू एउटा टर्निङ पोइन्टमा हुनुहुन्छ। आन्दोलनलाई सङ्गठनमा रूपान्तरित गर्ने र रवि लामिछानेज्यू र बालेन्द्र शाहको प्रशंसकको रूपमा रहेको यो समूहलाई एउटा वैचारिक रूपमा प्रष्ट सङ्गठित शक्तिको रूपमा रूपान्तरित गर्ने यो महाधिवेशनको दायित्व छ भन्ने म ठान्दछु,’ उनले भने।

Hardik ivf

ज्ञवालीले रास्वपाले छोटो समयमै असाधारण जनसमर्थन हासिल गरेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूले पनि त्यसबाट सिक्नुपर्ने बताए। उनले युवाहरूलाई आकर्षित गर्ने र राजनीतिक सहभागितामा जोड्ने रास्वपाको प्रयास प्रशंसनीय रहेको धारणा राखे।

उनले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय, समावेशिता तथा उत्तरदायी राज्यको अवधारणालाई आत्मसात गर्दै रास्वपा अघि बढ्नुपर्ने सुझाव दिए। प्राप्त जनादेशको सही सदुपयोग भएमा लोकतन्त्र बलियो बन्ने र गलत प्रयोग भए जोखिम उत्पन्न हुनसक्ने चेतावनी पनि उनले दिए।

‘महत्त्वपूर्ण कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय, समावेशिता र सामाजिक मूल्यहरू गरी खाने जनताका लागि पनि राज्य चाहिन्छ। राज्य केवल हुनेखानेका लागि मात्रै होइन भन्ने एउटा उत्तरदायी राज्यको अवधारणा बोकेको त्यो बाटो तय गरोस्, मेरो धेरै–धेरै शुभकामना छ,’ उनले भने।

ज्ञवालीले वर्तमान भू–राजनीतिक परिस्थितिमा नेपालले राष्ट्रिय हित र स्वाधीनताको रक्षा गर्न अत्यन्त सावधानीपूर्वक कदम चाल्नुपर्ने बताए । भारत र चीनसँगको सम्बन्ध तथा क्षेत्रीय जटिलताबीच सन्तुलित कूटनीति आवश्यक रहेको उनको भनाइ थियो। 

‘अहिलेको भू–राजनीतिक जटिलताबीच नेपालले राष्ट्रिय हित र स्वाधीनताको रक्षा गर्न अत्यन्त सावधानी अपनाउनुपर्छ। भारत र चीनजस्ता छिमेकीसँगको सम्बन्धमा सन्तुलित कूटनीति कायम राख्दै राष्ट्रिय हितलाई केन्द्रमा राख्न आवश्यक छ,’ उनले भने।

उनले सरकारका केही प्रारम्भिक निर्णय र गतिविधिबाट प्रश्नहरू उठेको उल्लेख गर्दै लोकतान्त्रिक संस्था, संसद, न्यायालय र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए। लोकतन्त्रको आधारभूत मूल्य कमजोर हुने कुनैपनि गतिविधि जनमतका लागि चुनौती बन्न सक्ने उनको भनाइ थियो।

काम गर्ने उत्साह आवश्यक भए पनि त्यसमा सन्तुलन कायम गर्नुपर्ने उल्लेख गर्दै ज्ञवालीले ‘गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि आवश्यक हुने’ उदाहरण प्रस्तुत गरे। उनले रास्वपाले लोकतन्त्र, पारदर्शिता र सुशासनप्रतिको प्रतिबद्धतालाई व्यवहारमा पुष्टि गर्नुपर्नेमा जोड दिए। 

महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै ज्ञवालीले यसले पार्टीका लागि मात्र नभई देश र जनताका लागि पनि भरोसा जगाउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १७:५५ बजे, आइतबार, असार ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्