Kathmandu Press

संविधानको मर्मलाई आत्मसात् गर्दै सुशासन र समृद्धिको बाटोमा अघि बढ्छौँः रवि लामिछाने

‘आन्तरिक लोकतन्त्र र निष्ठा मेरो लागि सम्झौता गर्ने विषय होइनन्। पार्टीका साथीहरूको अधिकार कुण्ठित भयो भने त्यसले ढिलो–चाँडो दुर्घटना निम्त्याउँछ। त्यसैले हामी होसियारी र सुझबुझका साथ अघि बढ्नुपर्छ।’
संविधानको मर्मलाई आत्मसात् गर्दै सुशासन र समृद्धिको बाटोमा अघि बढ्छौँः रवि लामिछाने

रौतहट, असार ६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको मर्मलाई आत्मसात् गर्दै आफ्नो पार्टी अघि बढ्ने बताएका छन्।

देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा लैजान रास्वपाले एउटा स्पष्ट सपना देखेको भन्दै उनले उक्त सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। 

पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले उक्त कुरा बताएका हुन्।

Hardik ivf

विगतका त्याग र बलिदानको जगमा उभिएर नै आजको परिवर्तन सम्भव भएको भन्दै उनले ती उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गरे।

सम्बोधनका क्रममा सभापति लामिछानेले अप्ठ्यारो र संकटको समयमा साथ दिने केन्द्रीय सदस्य तथा नेता–कार्यकर्ताप्रति आभार प्रकट गरे।

आफूमाथि लागेका विभिन्न आरोप र कानुनी प्रक्रियाका बेला पार्टी परिवारले देखाएको ऐक्यबद्धताले थप ऊर्जा मिलेको उनको भनाइ थियो।

पार्टी स्थापनादेखि अहिलेसम्मको यात्रा चुनौतीपूर्ण रहेको स्मरण गर्दै उनले पार्टीको आन्तरिक लोकतन्त्र र विधिको शासनमा आफूले कहिल्यै सम्झौता नगर्ने स्पष्ट पारे।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै संस्थापक सभापति लामिछानेले भने, ‘आन्तरिक लोकतन्त्र र निष्ठा मेरो लागि सम्झौता गर्ने विषय होइनन्। पार्टीका साथीहरूको अधिकार कुण्ठित भयो भने त्यसले ढिलो–चाँडो दुर्घटना निम्त्याउँछ। त्यसैले हामी होसियारी र सुझबुझका साथ अघि बढ्नुपर्छ।’

आगामी नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई स्वस्थ र मर्यादित बनाउन आह्वान गर्दै उनले महाधिवेशनले सक्षम नेतृत्व छनोट गर्ने विश्वास व्यक्त गरे। 

केन्द्रीय समितिको यो अन्तिम बैठकले महाधिवेशनका लागि प्रस्तुत गरिने विधान संशोधन र अन्य प्रतिवेदनहरूलाई अन्तिम रूप दिने रास्वपाले जनाएको छ।
 

प्रकाशित मिति: १८:०२ बजे, शनिबार, असार ६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्