नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : संयोजक प्रचण्ड
‘चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो। एउटै निर्वाचन क्षेत्रमा करोडौं खर्च भएको छ, त्यही रकमको आधा आईटीमा लगाएको भए परिणाम फरक हुन सक्थ्यो,’ उनले भने।
काठमाडौं, असार ५ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’ निर्माण गर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेकपाको डिजिटल सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले पार्टी संगठन विस्तारका लागि डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भइसकेको भन्दै नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउन आईटी आर्मी चाहिएको बताए।
‘हाम्रो पार्टी अहिले नयाँ सिराबाट अगाडि बढ्न खोजिरहेको छ। सबैले सोच्ने बेला पनि भएको छ अहिले सदन, सडक र सरकारका सबै मोर्चाबाट संघर्ष गर्ने मुडमा छौं। आइटी प्रयोग गर्ने सन्दर्भमा आइटी सेना वा एउटा बिशाल आइटी फौज तयार गर्नुपर्ने नै भयो । पार्टीलाई सुदृढ, विस्तार गर्ने र नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउनको लागि विशाल आइटी आर्मी चाहियो। यो कम्युनिष्टहरुले मात्रै सक्ने कुरा हो । लाखौं जनतालाई गोलबद्ध गरेर त्यस्तो फौज तयार पार्ने कुरा कम्युनिष्ट र देशलाई माया गर्ने पक्षधरहरु नै गर्न सक्ने कुरा हो,’ उनले भने।
उननले डिजिटल क्षेत्रमा लगानी कम भएको भन्दै चुनावी खर्चसँग तुलना गर्दै असन्तुष्टि पनि व्यक्त गरे।
‘चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो। एउटै निर्वाचन क्षेत्रमा करोडौं खर्च भएको छ, त्यही रकमको आधा आईटीमा लगाएको भए परिणाम फरक हुन सक्थ्यो,’ उनले भने।
कार्यक्रममा उनले पार्टीलाई जनताको पक्षमा अझ मजबुत बनाउने र डिजिटल माध्यमबाट जनसंगठन विस्तार गर्ने योजना रहेको पनि बताए।
साथै उनले वर्तमान सरकारको नीति तथा कार्यक्रमप्रति आलोचना गर्दै सरकार गरिब, मजदुर र किसानको हितभन्दा बढी उच्च वर्गको हितमा केन्द्रित भएको आरोप लगाए।
‘सरकारको नीति कार्यक्रम, बजेट र अन्य सबै निर्णय सबैले सरकार नेपालका गरिब दुखी ,मजदुर किसानका विरुद्ध छ भन्ने कुरा प्रष्ट देखिएको छ। उच्च वर्गको हित रक्षा गर्ने कुरामा केन्द्रीत छ भन्ने कुरा प्रष्ट देखिएको छ,’ उनले भने।
उनले प्रतिक्रियावादीहरुलाई फाइदा पुग्नेगरी निराशाको खेती नगरी नयाँ सोच र जोशकासाथ अघि बढ्न पार्टीका सम्पूर्ण सदस्यहरुलाई निर्देशन दिए।












