Kathmandu Press

हर्क साम्पाङको प्रश्न- नेपालको रक्षा मन्त्री को हो, संसदमा ल्याइदिनुपर्याे

साम्पाङले सुस्ता क्षेत्रमा भारतीय पक्षको सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरूले नेपाली नागरिकलाई हप्कीदप्की गरेको तथा स्थानीय बासिन्दा आफ्नो भूमिको संरक्षणका लागि संघर्षरत रहेको देखिने भिडियोहरू सार्वजनिक भएको उल्लेख गरे।
हर्क साम्पाङको प्रश्न- नेपालको रक्षा मन्त्री को हो, संसदमा ल्याइदिनुपर्याे

काठमाडौं, जेठ २९ : श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले नेपाल–भारत सीमासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सीमाबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै त्यसको विरोधमा आफूले प्लेकार्ड प्रदर्शन गरेको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्री संसदमा उपस्थित नभएको टिप्पणी गरे।

‘प्रधानमन्त्रीज्यूले सीमाबारे विवादित अभिव्यक्ति दिइसकेपछि प्लेकार्ड लिएर विरोध गरेको पनि आज ११ दिन भइसकेको छ । ११औँ दिनमा पनि उहाँ संसदमा आउने छाँटकाँट देखिएन,’ उनले भने।

उनले वर्तमान रक्षा मन्त्री को हुन् भन्ने प्रश्न उठाउँदै सभामुखमार्फत रक्षा मन्त्रीलाई संसदमा उपस्थित गराउन माग गरे। साम्पाङले सुस्ता क्षेत्रमा भारतीय पक्षको सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरूले नेपाली नागरिकलाई हप्कीदप्की गरेको तथा स्थानीय बासिन्दा आफ्नो भूमिको संरक्षणका लागि संघर्षरत रहेको देखिने भिडियोहरू सार्वजनिक भएको उल्लेख गरे।

‘म प्रश्न राख्न चाहन्छु, नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ? रक्षा मन्त्रीलाई सभामुखले बोलाइदिनुपर्छ। उहाँलाई म प्रश्न सोध्न चाहन्छु, यो सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको एसएसबी (सशस्त्र सीमा बल) आएर नेपाली दाजुभाइहरूलाई हप्कीदप्की गर्दै गरेको र नेपाली दाजुभाइहरू आफ्नो भूमिको लागि लड्दै, भिड्दै गरेको अवस्थाका भिडियोहरू सार्वजनिक भएका छन्,’ उनले भने।

उनले उक्त घटनाप्रति नेपाल सरकार र रक्षा मन्त्रालयको गम्भीर ध्यान जानुपर्ने आवश्यकता औंल्याए । प्रधानमन्त्री संसदमा उपस्थित नभएको अवस्थामा रक्षा मन्त्रीलाई बोलाएर सीमासम्बन्धी विषयमा जवाफ दिनुपर्ने उनको माग थियो।

‘यसतर्फ नेपाल सरकारले र रक्षा मन्त्रीले ध्यान दिनुपर्यो। संसदमा प्रधानमन्त्री त आउनुहुन्न, रक्षा मन्त्री छन् भने खोजेर ल्याइदिनुपर्याे,’उनले भने।

सांसद साम्पाङले सुस्ता क्षेत्रमा देखिएको अवस्थाबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्दै नेपाली भूमिको संरक्षणका लागि आवश्यक कदम चाल्नुपर्ने बताए।

प्रकाशित मिति: १२:१८ बजे, शुक्रबार, जेठ २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्