कांग्रेसको मुख्य चुनौती पार्टी एकता र जनाधार पुनस्र्थापना हो : डा.महत
‘नेपाली कांग्रेस पार्टीको चुनौतीपूर्ण घडीमा रहेको छ। पार्टीको जुन जनधार थियो, त्यो अहिले खस्केको अवस्था छ। पार्टीको १५औँ महाधिवेशन नियमित गर्ने भन्ने एउटा पक्षका साथीहरू र विशेष अधिवेशनमा भाग लिएर एउटा नेतृत्वमा पुगेका व्यक्तिहरू बिचमा देशभरी एउटा मनोवैज्ञानिक खाडल विद्यमान छ,’ उनले भने।
काठमाडौं, जेठ २८ : नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले पार्टी यतिबेला चुनौतीपूर्ण अवस्थामा रहेको दाबी गरेका छन्।
आज बिहीबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले कांग्रेसको परम्परागत जनाधार खस्किएको भन्दै पार्टीलाई पुनः सशक्त र लोकप्रिय बनाउने अभियानमा वृहत् एकता आवश्यकता रहेको बताएका हुन्।
उनले पार्टीभित्र १५औँ महाधिवेशन नियमित रूपमा गर्नुपर्ने पक्षधर समूह र विशेष अधिवेशनमार्फत नेतृत्वमा पुगेका समूहबीच देशभर मनोवैज्ञानिक खाडल विद्यमान रहेको बताए । उनले यस्तो अवस्था कायम रहे पार्टी अझ कमजोर बन्नसक्ने चेतावनी दिँदै उनले आन्तरिक समझदारी र सहकार्यको आवश्यकता औँल्याए।
‘नेपाली कांग्रेस पार्टीको चुनौतीपूर्ण घडीमा रहेको छ। पार्टीको जुन जनधार थियो, त्यो अहिले खस्केको अवस्था छ। पार्टीको १५औँ महाधिवेशन नियमित गर्ने भन्ने एउटा पक्षका साथीहरू र विशेष अधिवेशनमा भाग लिएर एउटा नेतृत्वमा पुगेका व्यक्तिहरू बिचमा देशभरी एउटा मनोवैज्ञानिक खाडल विद्यमान छ,’ उनले भने।
उनका अनुसार वृहत् एकताका लागि १५औँ महाधिवेशनको निष्पक्षता, पारदर्शिता, स्वामित्व र सहभागिता सुनिश्चित हुनुपर्छ। त्यसका लागि नियमित महाधिवेशनको पक्षमा रहेका नेता र विशेष अधिवेशनबाट निर्वाचित नेतृत्वबीच सहमति र समझदारी आवश्यक रहेको उनले बताए।
‘वृहत् एकताको लागि १५औँ महाधिवेशनको निष्पक्षे निष्पक्षता, पारदर्शिता, स्वामित्व र सहभागिता सुनिश्चित हुन आवश्यकता रहेको छ। त्यसको लागि नियमित अधिवेशन नेतृत्व गरेका साथीहरू र विशेष अधिवेशन लागि निर्वाचित भएका साथीहरू एउटा समझदारी हुन जरुरी छ,’ उनले भने।
महतले आगामी १५औँ महाधिवेशन निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न हुने सुनिश्चितता हुनसके मात्रै पार्टीभित्रको विश्वास बलियो बन्ने र कांग्रेस पुनः सुदृढ हुने विश्वास व्यक्त गरे।












