Kathmandu Press

चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : मन्त्री तिमिल्सिना

‘यो सम्मान वा पुरस्कारलाई रकमले मात्रै मापन गर्न सकिँदैन। यो चलचित्र समूहले देश र सरकारलाई एउटा अमूल्य उपहार दिएको अनुभूति भएको छ,’ उनले भने ।
चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : मन्त्री तिमिल्सिना

काठमाडौं, जेठ २८ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तनलाई व्यवहारमा अनुभूत हुने गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

कान्स फिल्म फेस्टिभलमा पुरस्कृत नेपाली चलचित्र ‘इलिफेन्ट्स इन द फग’को सम्मानमा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा उनले चलचित्र क्षेत्रको विकास, सुदृढीकरण र संस्थागत सुधारका लागि सरकार आवश्यक पहल गर्न तयार रहेको स्पष्ट पारे।

उनले चलचित्र क्षेत्रको योगदानलाई अमूल्य भन्दै कान्समा प्राप्त सफलता देशका लागि पनि गौरवको विषय भएको बताए।

‘यो सम्मान वा पुरस्कारलाई रकमले मात्रै मापन गर्न सकिँदैन। यो चलचित्र समूहले देश र सरकारलाई एउटा अमूल्य उपहार दिएको अनुभूति भएको छ,’ उनले भने ।

मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको दीर्घकालीन विकासका लागि संसद्को संसदीय समितिमा छलफलमा रहेको सम्बन्धित विधेयकलाई समयसापेक्ष र व्यवहारिक बनाउन चलचित्रकर्मीको सक्रिय सहभागिता आवश्यक रहेको बताए। कलाकार, निर्माता तथा सरोकारवालासँग संयुक्त छलफल गरेर सुझावलाई विधेयकमा समेटिने उनको भनाइ थियो।

उनले विभिन्न क्षेत्रको विकास र समृद्धिका लागि खर्च गर्ने विषयमा धेरै बहस हुने गरे पनि लगानी कसरी सिर्जना गर्ने, कसरी उत्पादन गर्ने र कसरी आम्दानी बढाउने भन्ने विषयमा अपेक्षाकृत कम छलफल हुने गरेको उल्लेख गरे। 

चलचित्र क्षेत्रले देश, समाज र अर्थतन्त्रलाई महत्त्वपूर्ण योगदान दिने भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको उनको धारणा थियो।

प्रकाशित मिति: ०८:२० बजे, बिहीबार, जेठ २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्