प्रधानमन्त्रीको जेठ १७ को अभिव्यक्तिबाट संसदमा संकट सुरु भयो : सांसद थापा
थापाले वर्तमान संकट दुईवटा प्रमुख परिघटनाबाट उत्पन्न भएको एमालेको निष्कर्ष रहेको बताए। उनका अनुसार पहिलो परिघटना जेठ १७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको रोस्ट्रमबाट दिएको अभिव्यक्तिसँग सम्बन्धित छ।
काठमाडौं, जेठ २७ : नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले देश गम्भीर राष्ट्रिय संकटमा फसेको भन्दै त्यसको स्रोत र समाधानबारे ठोस विश्लेषण आवश्यक रहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान संकटको निकास खोज्न संसद् एक साताभन्दा बढी समयदेखि अवरुद्ध रहेको र सदनभित्र संघर्ष जारी रहेको बताए। उनले संकट कसरी उत्पन्न भयो, यसको स्रोत के हो र यसको समाधान कसले गर्न सक्छ भन्ने विषयमा स्पष्ट विश्लेषण नगरी निकास सम्भव नभएको धारणा राखे।
‘आज देश गम्भिर राष्ट्रिय संकटको भूमरिमा फसेको छ। यो सबै तपाईं हामीले अनुभव गरेका कुराहरु छन् । यो संकटको निकासको निम्ती हप्तादिनभन्दा बढी यो सदन अवरुद्ध भएको छ । र सदनमा संघर्ष चलिराखेको छ,’ उनले भने, ‘यो संकट कसरी पैदा भयो? यसको स्रोत के हो? हामीले यो संकटको ठोस विश्लेषण नगरिकन यसको निकास पत्ता लगाउन हामी सक्दैनौं। यो संकटको समाधान के हो रु यो संकटको समाधान कस्ले गर्न सक्छ रु यो विषयको ठोस विश्लेषण नगरिकन हामीले यो संकटबाट मुक्ति पाउँन सक्दैनौं।’
थापाले वर्तमान संकट दुईवटा प्रमुख परिघटनाबाट उत्पन्न भएको एमालेको निष्कर्ष रहेको बताए। उनका अनुसार पहिलो परिघटना जेठ १७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको रोस्ट्रमबाट दिएको अभिव्यक्तिसँग सम्बन्धित छ।
‘जेठ १७ गते सम्माननीय प्रधानमन्त्रीले यही रोस्ट्रमबाट नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुभयो । यही घोषणा र अभिव्यक्तिबाट संकट उत्पन्न भएको हाम्रो ठहर छ,’ थापाले भने।
उनले उक्त अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापतिको भारत भ्रमणको एक दिनअघि आकस्मिक रूपमा संसद्मा आएर दिइएको दाबी गर्दै त्यसले विशेष सन्देश प्रवाह गरेको उल्लेख गरे।थापाले संकटको समाधानका लागि यसको वास्तविक कारण र पृष्ठभूमिबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए।












