आङ्देम्बेले भने– नेपालले भारतको भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सत्ता पक्षका सांसद देख्दा लज्जित छु
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँड्नुपर्नेमा सत्ता पक्षका केही सांसदहरूले नेपालले भारतको सीमा मिचेको हो भनेर न्वारनदेखिको बल लगाएर दौडीराखेको भन्दै आपत्ति जनाए।
काठमडौं, जेठ २७ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपालले कसैको भूमि मिचेको छ कि भनेर खोज्दै हिँड्ने सत्ता पक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँड्नुपर्नेमा सत्ता पक्षका केही सांसदहरूले नेपालले भारतको सीमा मिचेको हो भनेर न्वारनदेखिको बल लगाएर दौडीराखेको भन्दै आपत्ति जनाए।
‘आजको मितिमा यो संसद्मा प्रश्न गर्ने क्षमताले आत्माहत्या गरिराखेको बडो कारुणिक दृष्य मैले देखिराखेको छु। सत्ताको कित्ताबाट कोही एकजनाले हिम्मत गर्लान्। मेरो देशले कसैको सीमा कहाँ मिचेको छ रु भनेर प्रश्न गर्लान् भनेको त सभामुख महोदय म आफैँ लज्जित छु। उल्टै कतिपय सांसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न म यो शब्द प्रयोग गर्न चाहन्नथेँ तर भन्छु न्वारनदेखिकै बल लगाएर दौडिराख्नुभएको छ,’ उनले भने, ‘नेपालले मिचेको भूमि खोजी राख्नुभएको छ। यस्तो खालको जनताले देख्दाखेरी पनि नरुचाउने खालको हर्कत गर्ने मित्रहरूलाई वीर भक्ति थापाको त्यो आत्माले धिक्कार्लान् कि।’
उनले देश र जनता कसैले पनि नरुचाउने खालको यस्ता हर्कत गर्ने सांसदहरूलाई वीर भक्ति थापाको आत्माले पनि धिकार्ने बताए। उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको र ती समस्याको समाधान गहन कूटनीतिक सम्वादमार्फत टुंगो लगाउनुपर्ने बताए।












