Kathmandu Press

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

उनले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको र वीर गोर्खालीहरूको देशका नागरिकले सधैं स्वाभिमानका साथ जीवन बिताएको उल्लेख गरे।
लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

काठमाडौं, जेठ २७ : नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयको समाधान आवेग र उत्तेजनाबाट नभई संयमित तथा कूटनीतिक संवादमार्फत खोजिनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङदेम्बेले वर्तमान राजनीतिक परिस्थिति असामान्य रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानको विषयमा सबै संवेदनशील हुनुपर्ने बताए।

Hardik ivf

‘विपक्षी ज्युहरुले आफ्नो असन्तुष्टि व्यक्त गरिरहनु भएको छ। आज वर्तमान राजनीतिक परिस्थिति असामान्य छ। दुनियाँलाई थाहा छ लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो। यही संसदले ती भूभागसहित नेपालको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ। यो विषयको हल उत्तेजना र आवेगले होइन, संयमित ढंगले गहन संवादको माध्यमबाट कुटनीतिक प्रक्रियाबाट हुनुपर्दछ,’ उनले भने।

उनले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको र वीर गोर्खालीहरूको देशका नागरिकले सधैं स्वाभिमानका साथ जीवन बिताएको उल्लेख गरे। यस क्रममा उनले स्वर्गीय गायक गोपाल योञ्जनको चर्चित गीत उद्धृत गर्दै नेपालीहरूको राष्ट्रिय भावना, स्वाभिमान र स्वतन्त्रताको चेतनाबारे चर्चा गरे।

‘म त्यो देशको नागरिक हुँ, जुन देश इतिहासमा कहिल्यै कसैको उपनिवेश बनेन। म जान्दछु, मेरो देश वीर गोर्खालीको देश हो, जुन दुनियाँमा कहिल्यै कसैको सामु पनि झुकेन। हामी सबैले बाल्यकालदेखि सुन्दै आएको अत्यन्तै कर्णप्रिय र अत्यन्तै लोकप्रिय गायक गोपाल योञ्जनज्यूको गीत हामीले सुनिराखेका छौँ, जो राष्ट्रिय भावनाले ओतप्रोत पनि छ। ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतिले मेरो लाज छोपिन्न, घोटिएर हातपाउ झरिझाऊन् औँला, तर कोहीको अगाडि यी हात जोडिन्न। बनेको छ पहराले यो छाती मेरो..।’ मैले यति भन्यो भने सायद राष्ट्रप्रति हाम्रो संवेदनशीलता यहाँनिर छ्याप्छ्याप्ती पोखिएको छ, जोडिएको छ,’ उनले भने।

सांसद आङदेम्बेले नेपाली आमाको गर्भबाट जन्मिने हरेक सन्तानले सगरमाथाजस्तै उच्च स्वाभिमान बोकेर बाँच्ने बताए। उनले हालै प्रधानमन्त्रीबाट आएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति पनि प्रश्न उठाउँदै छिमेकी मुलुकले सीमा मिचेको विषय र नेपालले पनि मिचेको जस्तो अभिव्यक्ति दिनु उपयुक्त नभएको टिप्पणी गरे।

‘नेपाली आमाको गर्भबाट हिजो जन्मिएका या भविष्यमा जन्मिने प्रत्येक बच्चा मानिस शिरमा स्वाभिमान बोकेर बाँच्नेछन् । सगरमाथा मात्रै होइन, सगरमाथाजस्तै स्वाभिमान बोकेर बाँच्नेछन्। आज गोपाल योञ्जन हुनुहुन्थ्यो भने हाम्रो देशले छिमेकीको सिमाना मिचेको छ भनेर गर्वका साथ सार्वजनिक रूपमा अभिव्यक्ति दिने प्रधानमन्त्रीको भनाइ सुनेर के भन्नुहुन्थ्यो होला? उनले पनि मिचे, हामीले पनि मिच्यौँ, के हिसाब बराबर भन्न खोज्नुभएको हो प्रधानमन्त्रीले?,’ उनले भने।

सांसद आङदेम्बेले सीमा विवादजस्ता विषयको समाधान भावनात्मक प्रतिक्रिया वा उत्तेजनाले नभई गम्भीर संवाद, आपसी समझदारी र कूटनीतिक प्रक्रियाबाट खोजिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, जेठ २७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्