कानुन अभावले नागढुङ्गा सुरुङमार्ग संचालनमा ढिलाइ : आयोजना प्रमुख
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपालले सुरुङमार्ग सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था नहुँदा सञ्चालन मोडालिटी टुंगो लगाउन करिब एक वर्ष समय लागेको बताएका छन्।
काठमाडौं, जेठ २५ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाको प्रगति र सञ्चालन व्यवस्थाबारे छलफल गरिएको छ।
छलफलका क्रममा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपालले सुरुङमार्ग सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था नहुँदा सञ्चालन मोडालिटी टुंगो लगाउन करिब एक वर्ष समय लागेको बताएका छन्।
उनका अनुसार हालको कानुनले ठूला पूर्वाधार निर्माणलाई प्राथमिकता दिएपनि निर्माणपछि सञ्चालन व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था छैन्।
‘निर्माण कार्य पनि होइन र परामर्श सेवा पनि होइन। पूर्वाधार सञ्चालन गर्ने सेवा प्रदायक छनोटसम्बन्धी व्यवस्था मौजुदा कानुनमा नभएकाले खरिद निर्देशिका तयार गर्नुपर्याे, मौजुदा कानुनमा नभएकाले करिब एक वर्ष खरिद निर्देशिका तयार गर्ने त्यसपछि मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने र सार्वजनिक खरिद अनुगमन कार्यालयबाट स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट जारी गरेर त्यसपछि ठेक्का प्रक्रिया गर्दा एक वर्ष समय लागेको छ,’ उनले भने।
नेपालका अनुसार सञ्चालनसम्बन्धी खरिद निर्देशिका तयार गर्न, मन्त्रिपरिषद्बाट स्वीकृत गराउन तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट जारी गराउन लामो समय लागेको थियो । त्यसपछि मात्रै ठेक्का प्रक्रिया अघि बढाउन सकिएको उनले जानकारी दिए।
निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेपनि सञ्चालनको मोडालिटी टुंगो नलागेकाले समय लागेको उनले स्पष्ट पारे।
यसैबीच उनले नागढुङ्गा सुरुङमार्गको डिजाइन छनोटअघि तीनवटा विकल्पमाथि अध्ययन गरिएको जानकारी दिए। उनका अनुसार छोटा–छोटा सुरुङमार्ग निर्माण गर्ने, ६–७ किलोमिटर लामो एउटै सुरुङमार्ग निर्माण गर्ने वा २.७ किलोमिटर लामो सुरुङमार्ग निर्माण गर्ने विकल्पबारे अध्ययन गरिएको थियो।












